मन्त्री, सचिव र उच्च पदस्थलाई पछ्याउँदै कोरोना, सिंहदरबारकै कर्मचारी आउनै छोडे


६ भाद्र २०७७, शनिबार
Singhadarbar CC Camera

काठमाडौं, ६ भदौं । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ ।

सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण हुने क्रम बढेपछि मन्त्रालयका सचिव तथा सहसचिवसमेत कोरोना सन्त्रासका कारण मन्त्रालय आउनै छाडेका छन् । मन्त्रीहरू पनि केही समय कार्यालयमा आएर छिटो छिटो फर्कन थालेका छन् ।

सिंहदरबारमा कोरोना सन्त्रास फैलिएसँगै कतिपय मन्त्रालयका महत्वपूर्ण नीतिगत निर्णयहरू गर्ने कार्यसमेत प्रभावित भएको छ । सिंहदरबार प्रवेशद्वार र मन्त्रालयमा कडा सुरक्षा मापदण्ड अपनाइएको भए पनि कोरोनाबाट संक्रमण हुने क्रम बढेको हो ।

सरकारले तल्लो तहका कर्मचारीलाई घरबाटै काम गर्ने गरी (वर्क फ्रम होम) व्यवस्था मिलाएको भए पनि कोरोना संक्रमण बढेसँगै उपल्लो तहका कर्मचारीहरू पनि घरमै बस्न थालेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले काठमाडांैमा निषेधाज्ञ भएलगत्तै सिंहदरबारका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताए ।

‘अहिले त सिंहदरबारलाई समेत कोरोनाले घेरिसकेकाले धेरै कर्मचारी आउन छाडिसकेका छन्,’ प्रवक्ता पौडेलले भने । प्रधानमन्त्री कार्यालयका अनुसार शुक्रबार सिंहदरबारमा कार्यरतमध्ये झन्डै १० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा उपस्थित भएका थिए । शुक्रबार सिंहदरबार पूर्ण रूपमा सुनसान बन्न पुगेको थियो ।

प्रधानमन्त्री कार्यालयको विश्लेषणअनुसार विभिन्न तराईका जिल्लाबाट सरुवा भएर आएका कर्मचारी तथा सिंहदरबारमा कार्यरत तराई क्षेत्रका कर्मचारी र उनका परिवारका सदस्यका कारण पनि सिंहदरबारमा कोरोना संक्रमण बढ्न थालेको हो । बाहिर फिल्डमा गएर फर्कने चालकका कारण पनि सिंहदरबारभित्र कोरोना संक्रमण फैलिन पुगेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले जनाएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७