थुनुवाको मृत्यु प्रकरण : प्रहरीतिर प्रश्न, यातनाका कारण ज्यान गएको भन्दै स्थानीय आन्दोलित


१४ भाद्र २०७७, आईतवार
rautahat death family 20200830004505
29-Aug-2020apm01.indd

गौर, १४ भदौं । रौतहटको गरुडा नगर २ सातायता अशान्त छ । आक्रोशित स्थानीयले दिनहुँ प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

हिरासतमा रहेका १९ वर्षीय विजय राम चमारको मृत्यु प्रहरीको यातनाका कारण भएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । विजयका बुवा पनिलालले प्रहरीको कुटाइबाट छोराको मृत्यु भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।

घटनाक्रमअनुसार गरुडा–८ जिगडियाका २० वर्षीय निरन्जन राम चमारको हत्या गरिएको अवस्थामा साउन ३२ गते शव भेटिएको थियो । त्यसको अनुसन्धानका क्रममा स्थानीय विजयलाई प्रहरीले भदौ १ गते पक्राउ गरेको थियो । विजय मात्रै होइन, उनीसहित ७ जना पक्राउ परेका थिए । विजयको भने उपचारका क्रममा गत बुधबार राति मृत्यु भएको थियो ।

पक्राउ गर्ने समयमै पनि स्थानीयले विजय निर्दोष रहेको र प्रहरीले फसाउन खोजेको भन्दै विवाद गरेका थिए । स्थानीयबाट विरोध भए पनि इलाका प्रहरी गरुडाले नियन्त्रणमा लिई ८ दिनको म्याद थप गर्‍यो । पक्राउ परेको दिनदेखि नै उनीसँग भेट गर्न नदिएको परिवारजनको भनाइ छ । बिरामी भएर उपचारका लागि वीरगन्ज पठाएको जानकारी पाएपछि अस्पताल पुगेको उनीहरूको भनाइ छ ।

पिसाबमा समस्या आएपछि उनलाई प्रहरीले गरुडास्थित अनमिका अस्पताल पु¥याएको थियो । त्यहाँका डाक्टरले अन्यत्र उपचार गर्न लैजान भनेपछि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा लगिएको थियो ।

उपचारका बेला बोलेको उनको भिडियो र तस्बिर सार्वजनिक भएका छन् । उनको शरीरभर घाउचोट लागेको तस्बिर सामाजिक सञ्जालमा छाएका छन् । निरन्जनको हत्या स्वीकार नगरेको भन्दै हिरासतमा प्रहरीले रड, बाँसको भाटा र बुटले पिटेर यातना दिएको भिडियोसमेत सार्वजनिक भएको छ ।

प्रहरीले भने विजयलाई यातना नदिइएको बताउँदै आएको छ । गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतोले मिर्गौलाको समस्याका कारण उनको मृत्यु भएको जानकारी अस्पतालले गराएको बताएका छन् ।

परिवारमा पीडै पीडा
विजयका दाइ विश्वजितको गत माघमा मृत्यु भयो । विश्वजित रोजगारीका सिलसिलामा केही वर्षअघि कतार गएका थिए । उतै बिरामी परेपछि नेपाल फर्किए । केही महिना उपचार गराए, अन्ततः उनको मृत्यु भयो। उपचार गर्दा ऋणसमेत थपियो । उनका ससाना तीन छोरा छन् ।

कमाइ गर्ने दाइको मृत्युपछि परिवार पाल्ने जिम्मेवारी विजयमा आइलाग्यो । उनले श्रीमती र परिवारको सल्लाहमा भाउजूसँग बिहेसमेत गरे । दुवैको मन मिले परिवारको सल्लाहमा विधवा भाउजू विवाह गर्ने चलन छ ।

जेठो छोरोको मृत्युपछि घरसल्लाहमै कान्छोले भाउजू विवाह गरेको किसुनवती देवीले बताइन् । भाउजू उनकी श्रीमतीकी दिदी रहिछन् । दाजुभाइले दिदीबहिनी विवाह गरेका थिए । दिदीको पीडा देख्न नसकेर आफूले विवाह गर्न विजयलाई सल्लाह दिएको सुनितादेवीले सुनाइन् । सुनिताको काखमा ६ महिनाकी छोरी छिन् ।

गाउँघरमा मजदुरी गरेर परिवार पाल्दै आएका विजयको मृत्युपछि परिवारमा रुवाबासी चलेको छ । ८ जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ता पनि छ । पनिलाल न्यायको खोजीमा भौतारिएको २ साता भयो । छोरा पक्राउ परेदेखि भोकनिद्रा छैन । छोरो मरेको खबरपछि खाना खाएका छैनन् । तीन दिनदेखि घरमा चुलो बलेको छैन ।

प्रहरीले अपराधीलाई जोगाउन निर्दोषलाई फसाउन खोजेको पीडित परिवारको बुझाइ छ । निरन्जनको हत्या भएको रात विजय घरमैै रहेको आमा किसुनवतीको भनाइ छ ।

विजयका मावली भाइ रहेछन् निरन्जन । उनीहरूको घर सँगै छ, आँगन जोडिएको छ । दुवै जना मिल्थे पनि। निरन्जन केही वर्षदेखि बिर्ताबजारनजिकै नर्सरीमा काम गर्थे । विजय गाउँघरमै मजदुरी गर्थे । निरन्जनको परिवारमा पनि रुवाबासी छ । कमाउन भएको छोरोको शव घाँटी रेटेर फालिएको अवस्थामा गाउँनजिकै फेला परेपछि नन्दलाल राम मूच्र्छा परे ।

निरन्जन रात नपर्दै घर पुग्थे। त्यस दिन भने अबेरसम्म नआएपछि आमा सुनैनादेवीले गाउँमा सोधीखोजी गरिन् । रातभर निदाउन सकिनन् । कहिल्यै राति अन्यत्र नबस्ने छोरा घर नआएपछि आमाबाबु नै चिन्तामा परे । जिगडियाको चमार टोल नै शोकमा छ ।

२ जना युवकको मृत्युपछि गाउँकै ६ जनालाई प्रहरीले पक्राउ गरेपछि त्रास छ । कोही छिमेकी खुलेर बोल्दैनन् । गरिब र दलितलाई प्रहरीले फसाउँछ भन्ने धेरैको बुझाइ छ । एक नाबालिकासँग ‘अनैतिक’ सम्बन्ध राखेको आरोपमा निरन्जनको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । उनको हत्या आशंका २२ वर्षीय शेख अजाद, २० वर्षीय अजयकुमार रन्जन, १९ वर्षीय विवेककुमार यादव, १९ वर्षीय अर्जुन राम, २० वर्षीय सिकिन्द्र राम, १९ वर्षीय विजय राम पक्राउ परेका थिए ।

डीसएपी महतोका अनुसार निरन्जनको मोबाइल कलडिटेलका आधारमा शेख अजादलाई नियन्त्रणमा लिइयो । अजादको बयानका आधारमा अन्यलाई पक्राउ गरिएको महतोको भनाइ छ ।

गृह मन्त्रालयबाट घटनाको छानबिन

गृह मन्त्रालयले हिरासतमा मृत्यु घटनाका विषयमा छानबिन समिति बनाएको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोगेन्द्र निरौला समिति संयोजक छन् । समितिमा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक र राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख सदस्य छन् ।
डीएसपी महतोलाई सुरुमा गरुडाबाट जिल्ला प्रहरी कार्यालय गौरमा तानिएको थियो । शनिबार साँझ प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा तानिएको छ । उनको ठाउँमा गरुडामा सरकारले नयाँ कोही पठाएको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि यो घटनामा चासो दिएको छ । प्रहरी हिरासतमा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश २ कार्यालय जनकपुरले अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए ।

मृतकको स्वास्थ्य परीक्षण तथा पोस्टमार्टम प्रतिवेदनको प्रतिलिपि शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट तथा त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

आयोगले दलितमाथि हुने गरेका हिंसाका दोषीलाई कानुनी दायरामा ल्याउन पनि ध्यानाकर्षण गरेको छ । त्यस्तै पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, यस्ता घटना दोहोरिन नदिन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

२ दलित युवाको मृत्युपछि उक्त घटना स्थानीय प्रशासनले मिलाउने प्रयास गरेको छ । शुक्रबार बसेको सर्वदलीय बैठकले निषेधाज्ञाका बेला सयौं जना जम्मा भएर प्रदर्शन गर्दा जोखिम हुने भन्दै रोक्ने सहमति गरेको थियो । तर शनिबार सयौँ मानिसले गरुडा बजारमा प्रदर्शन गरेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरुडा घटना समाधान गर्न छलफल भएको र उठेका विषय पूरा गर्न माथिल्लो निकायमा जानकारी गराउने बताए । बैठकमा उच्चस्तरीय छानबिन समिति गठन, समितिको प्रतिवेदनका आधारमा दोषीलाई कडा कारबाही माग गर्ने, मृत्यु भएका दुवै जनालाई सहिद घोषणाको माग गर्ने, क्षतिपूर्तिका लागि माथिल्लो निकायमा माग गर्ने, तत्काल इलाका प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महतोलाई हटाउने सहमति भएको जनता समाजवादीका नेता रेवन्त झाले बताए ।

बालिकाको चरित्र हत्या

घाँटी रेटेर हत्या गरिएका युवकसँग जोडेर प्रहरीले एक बालिकाको चरित्र हत्या गरेको आरोप स्थानीयले लगाएका छन् । ११ वर्षीयालाई इलाका प्रहरी गरुडाले पाँच घण्टासम्म राखेर जबरजस्ती बयान दिन लगाएको निरन्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समितिको आरोप छ ।

788390434bbf90b903f4d832b19e8e71 w600 h350 cp

५ घण्टा प्रहरी कार्यालयमा राखेर निरन्जनसँग सम्बन्ध रहेको बयान दिन प्रहरीले दबाब दिएको ती बालिकाको भनाइ छ । घाँस काट्न जाँदा युवकसँग भेटेको बयान दिन ५ प्रहरीले दबाब दिएको उनको भनाइ छ । एक महिला प्रहरीसहित पाँच पुरुष प्रहरीले आफूलाई अश्लील शब्द प्रयोग गर्दै आफूमाथि विभिन्न लाञ्छना लगाएको बालिकाले दुखेसो पोखिन् ।

संघर्ष समितिका संयोजक सोनेलाल रामले डीएसपी महतो आर्थिक प्रलोभनमा परेर घटनाको मुख्य योजनाकारलाई जोगाउन खोजेको आरोप लगाएका छन् । पीडितले सच फलफूल नर्सरीका सञ्चालक राजाराम साहविरुद्ध जाहेरी दिएका थिए । दोषीलाई पक्राउ नगरी निर्दोष दलित युवकलाई फसाउने षड्यन्त्र भएको दलित संघसंस्थाका अगुवाको भनाइ छ ।

मेयरमा पराजित शेष करिमुल्लाले नाबालिकामाथि प्रहरीले चरित्रसँग जोडेर अनावश्यक तनाव दिएको गुनासो गरे । प्रहरी प्रलोभनमा परेर घटनाको अनुसन्धान अन्यत्र मोडेको उनको भनाइ छ । किटानी जाहेरी दिँदा पनि प्रहरीले वास्ता नगरेको उनले बताए ।

नेपाल उत्पीडित जातीय संघ रौतहटका अध्यक्ष नाथुराम परियारले निर्दोष युवकलाई यातना दिएर घटना स्वीकार गर्न लगाएकाले दोषीमाथि छानबिन गरी कारबाहीको माग गरे। राष्ट्रिय मुसहर उत्थान संघ नेपालका केन्द्रीय उपाध्यक्ष नथुनी माझीले गरिब र अशिक्षित दलित युवालाई पैसाको चलखेलमा फसाउने प्रहरीविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७