जलविद्युतबाट घाटा खाइरहेका लगानीकर्ता उकासिँदै


१८ भाद्र २०७७, बिहीबार
Chilime

काठमाडौं, १८ भदौं । लामो समयदेखि अंकित मूल्य (एक सय रुपैयाँ) भन्दा पनि तल रहेर कारोबार भइरहेका जलविद्युत् कम्पनीका लगानीकर्तालाई बजारको वृद्धि फाप्न थालेको छ । बुधबार मात्रै ९ वटा जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर सर्किट ब्रेक नै लागेको छ ।

कम्पनीहरू मात्र होइन, यस समूहगत परिसूचकसमेत १० प्रतिशतसम्म वृद्धि भयो । अपी, रिडी, जोशी, पाँचथर पावर, न्यादी ग्रुप पावर, युनियन हाइड्रोपावर, राधी, अरुणभ्याली र चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्यमा यो दरमा वृद्धि भएको हो ।

रिडी, जोशी र युनियन हाइड्रोपावर कम्पनीका सेयर मूल्य भने अंकित मूल्यमुनि नै छन् । लाभांश दिन समस्या परेको वा कम लाभांशका कारण यी समूहका सेयरमा लगानीकर्ता आकर्षित हुन सकिरहेका थिएनन् ।

हाल बजारमा मनग्य लगानीयोग्य पुँजी भएपछि लगानीकर्ता यी कम्पनीतर्फ पनि आकर्षित भएका हुन् । लगानी क्षेत्र अभावले खुला रहेको एक मात्र सेयर बजारमा मानिसहरू आकर्षित भएका छन् । अन्य कम्पनीहरूको मूल्य उच्च दरमा वृद्धि भइरहेकाले ती सेयर अधिमूल्य (ओभर भ्यालुड) हुन सक्ने भएपछि अंकित मूल्यभन्दा पनि कम रहेका जलविद्युत् विकल्पका रूपमा देखिएको हो ।

hydro.jpg .2020 09 03

सेयर बजारमा रहेको लगानी विविधीकरण अभावले समेत कुनै समय एउटा समूहमा र अर्को समय अरू समूहमा लगानी गरिरहेका देखिन्छन् । केही दिनसम्म वृद्धि भइरहेको निर्जीवन बिमा कम्पनीहरूको समूहगत परिसूचक घटेको छ । वर्षकै उच्च मूल्यनजिक आइरहेका यी सेयरबाट लगानीकर्ताले प्रतिफल सुनिश्चित गर्न थालेको देखिन्छ ।

मुलुकमा लगानी क्षेत्र अभावको विकल्प बनेको सेयर बजारमा धेरैको सहभागिता बढ्दा कारोबार रकममा रेकर्ड कायम हुन थालेको छ । बुधबार फागुनयताकै उच्च कारोबार भएको हो । यस दिन ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । १८ फागुनमा एकै दिन हालसम्मकै उच्च ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा आएको निर्जीवन र जीवन बिमा कम्पनीहरूको समूहगत परिसूचकबाहेक सबै समूहमा यस दिन सुधार देखिएको छ । यस दिन नेप्से परिसूचकले १ हजार ५ सय अंक पार गरेकोे छ । परिसूचक ५ महिना १० दिनयता यो तहमा आइपुगेको हो ।

तरलतामा आधार भएर बजार बढिरहेकाले यो समय गरिएका प्राविधिक विश्लेषणले भने सही जानकारी दिने सम्भावना कम छ । यसमै मात्र भर पर्नु जोखिमयुक्त भने हुन सक्छ । यद्यपि, नेप्सेले हाललाई १ हजार ६ सय तहको लक्ष्य लिएर अगाडि बढेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७