अस्पतालमा दुई महिनादेखि बन्धक दम्पती मुक्त, झुपडीमा फर्कियो खुसी 


१ आश्विन २०७७, बिहीबार
IMG20200916145942.jpg .2020 09 17 scaled

सप्तरी, १ असोज । लड्न आँटेको फुसको जीर्ण झुप्रो । झुप्रोमा न ढोका न खाट । हप्तौँदेखि चुलो नबलेको भान्सा । चारैतिर झार ढपक्क उम्रेको र आँगनमा घास भरिभराऊ ।

कसैको घरको अवस्था यसभन्दा कहालीलाग्दो सायदै हुन्छ । तैपनि घर पुग्दा शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको मुहारमा खुसी थियो र नयाँ जीवन पाएको हर्ष ।

छिमेकीको कुटाइबाट घाइते भई अस्पताल भर्ना भएका र बिल तिर्न नसकेपछि अस्पतालले बन्धन बनाएका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको बुधबार उद्धार भयो । अन्यायमा परेको दम्पती नै बन्धक भएको समाचार प्रकाशित भएसँगै उनीहरु मुक्त भएका हुन् ।

एम्बुलेन्स चढेर ५७ औं दिनमा घर पुग्दा उनीहरूले हर्षका आँसु झारे । शिवचन्द्र र उनकी श्रीमती धेरैबेर भक्कानिए । उनको घर–आँगनमा जम्मा भएका अरू हेरेकोहेरै भए । सन्नाटा नै छायो । तर, दम्पती घर पुग्दा छिमेकका केही केटाकेटी आँगनमा रहेको घाँस सफा गर्दै थिए ।

निरन्तरको झरीले बाँसको टाटीमा माटोले लिपेर बनाएको जीर्ण घरमा पुगेपछि दम्पतीले छोराछोरी खोजे । तर, केटाकेटी घरमा केही खानेकुरा नभएर मावली गएका थिए ।

छिमेकी रामपरी सदाका अनुसार मामाघरकी हजुरआमाले तीन नातिनातिनालाई लिएर गएकी थिइन् । बा–आमा घाइते भएर अस्पताल गएपछि उनका छोराछोरीले छिमेकीकहाँ मागेर पेट पालेका थिए । छिमेकीले समेत खान दिन छाडेपछि उनीहरू हजुरआमासँग मावली गएका थिए ।

छिमेकीबाट छोराछोरीको सबै हालखबर बुझेपछि थकित शिवचन्द्र आराम चाहन्थे, पुग्नेबित्तिकै बाँसको भाटाले बनाएको खाटमा पल्टे । छिमेकी भेला भएर पछिल्लो हालखबर बुझ्दै थिए । तर, के–कसो भयो भनेर कसैले सबै जान्न चाहेनन् । सबै छिमेकी घटनाबाट जानकार नै थिए । घरमा खानेपानीको कल थिएन । मिलियादेवी छिमेकीको घरमा नुहाउन गइन् ।

ठूलो संघर्ष जितेर सदादम्पती घर त पुगे । तर, मनभरि चिन्ता र भय छ । घरमा खानलाई एक मुठी अन्न छैन, के खाएर ज्यान पाल्ने ? यो चिन्ता त छ नै । फेरि पापी छिमेकीको आक्रमण हुने कि भन्ने भय पनि उत्तिकै छ । केहीबेरको आरामपछि शिवचन्द्रले भने, ‘अस्पतालबाट त जसोतसो आइयो, अब के खाएर बाँच्ने ?’

एकैछिन टोलाएपछि शिवचन्द्रको आँखाबाट फेरि आँशु झर्‍यो । उनको आँखाले छोराछोरीको अनुहार हेर्न खोजेका थिए । तल मुन्टो लगाएर भने, ‘केटाकेटीको मावली सीमावर्ती भारतीय गाउँ लालपुर छ । अब तिनीहरूलाई कसरी घर फर्काउने ? घरमा सुरक्षा हुन्छ कि हुँदैन, डरैडर छ ।’

सप्तरीको महुली गाउँका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीलाई गत ५ साउनमा छिमेकीले निर्घात कुटेका थिए । बाँसको भाटाले प्रहार गर्दा शिवचन्द्रको टाउको फुटेको थियो । उनकी श्रीमती पनि गम्भीर घाइते भएकी थिइन् ।

घाइते दम्पतीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन हस्पिटल लगिएको थियो । तर, उपचारमा एक लाख ९० हजारको बिल आयो । गरिब सदादम्पती यो बिल तिर्न सक्ने अवस्थामा थिएनन् । बिल नतिरेपछि अस्पतालले बन्धन बनायो । विपन्न र बेखर्ची सदादम्पती अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाइरहेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७