शान्ति स्थापनार्थ कङ्गो गएका नेपाली सेनाका सहसेनानीले नै मच्चाए ‘अशान्ति’, जवानलाई कुटेर बनाए मरणासन्न


१० आश्विन २०७७, शनिबार
d693e575dc13d912821f63d881703a84 w1000 h500 cp

काठमाडौं, १० असोज । शान्ति स्थापनार्थ अफ्रिकाको कंगोमा खटिएका नेपाली सेनाका अधिकृतले नै आफ्ना जुनियरलाई मरणासन्न हुने गरी कुटपिट गरेर अशान्ति मच्चाएका छन् ।

आफ्नो कमाण्डका जवानलाई कुटपिट गरी सख्त घाइते बनाएपछि अनुशासन उल्लंघन गरेको विषयमा सेनाका अधिकृतमाथि अगाडि बढेको छ ।

शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको गणमा सैनिक आचरण र मर्यादा विपरीत कार्य भएको भन्दै सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ शुरू गरेको हो । मेजरको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी छानविन थालिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बिहीबार कंगोमा खटिएको उक्त क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटको खबर सामाजिक सञ्जालबाट बाहिर आएपछि जंगी अड्डाले छानविन अघि बढाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन् ।

मदिरापान गरेर सहसेनानीत्रय इन्द्र थापा, सुभाष हुमागाईं र योगेन्द्र धितालले निर्घात कुटपिट गरेर नायक नवराज माझीलाई मरणासन्न अवस्थामा बनाएको पाइएको छ । कुटपिटबाट माझीको तिघ्रा, कम्मर र भुँडीमा गम्भीर चोट लागेको छ ।

प्रारम्भिक छानविनमा क्याप्टेनहरू र सैनिक जवानबीच झगडा हुँदा जवानमाथि कुटपिट भएको पाइएपछि जंगी अड्डाले छानविन समिति नै गठन गरेको हो । पौडेलले छानविन एक साताभित्रै सकिने जानकारी दिएका छन् ।

कंगोमा सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ । एक वर्षअघि खटिएको यो पल्टन असोजमै नेपाल फर्किंदैछ । त्यसपछि अर्को पल्टन कंगो जाने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७