संकटमा मिर्गौला रोगी


१८ आश्विन २०७७, आईतवार
5f7914583a31d miiii

काठमाडौं, १८ असोज । कोरोना भाइरस (कोभिड-१९) ले मिर्गौला रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् ।

कोरोनाका कारण सरकारले लामो समयसम्म गरेको बन्दाबन्दी तथा निषेधाज्ञामा मिर्गौला रोग लागेका बिरामी र उनीहरूका परिवार प्रभावित बन्न पुगेका छन् । बन्दाबन्दी तथा निषेधाज्ञा खुुले पनि मिर्गौला रोगीलाई अस्पतालसम्म पुुग्न अहिले निकै कठिन भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले मिर्गौला ‘फेल’ भई डाइलासिस गराइरहेका व्यक्ति आर्थिक लगायत अन्य समस्यामा त थिए नै कोरानाका कारण झन् समस्या रहेको जानकारी दिए ।

उनले धर्मभक्त प्रत्यारोपण केन्द्र देशकै एक मात्र प्रत्यारोपण केन्द्र भएकाले चार सिफ्टमा डाइलासिस गरिरहेको जानकारी दिए । उनले बन्दाबन्दीको बीचमा ९० देखि सय जनाको मिर्गौला डाइलासिस भइरहेको बताए ।

श्रीमान् मिर्गौला रोगी भए श्रीमती र श्रीमती रोगी भए श्रीमानले कमाएर उसको उपचार र अन्य खर्च जोहो गर्न नसक्दा धेरै बिरामीलाई समस्या भएको छ ।

बन्दाबन्दीले धेरैको रोजगार गुम्दा मिर्गौला डाइलासिस गराइरहने बिरामी र प्रत्यारोपणको पर्खाइमा रहेका बिरामी तथा प्रत्यारोपण गराइसकेका व्यक्ति त्यसको शिकार बन्न पुगेका छन् । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा मिर्गौला डाइलासिस गर्दै आएका सिन्धुपाल्चोकका मिलन श्रेष्ठको अवस्था अहिले धेरै नाजुक छ ।

छ वर्षअघि मिर्गौला फेल भएपछि उनको नियमित डाइलासिस गराउन थालिएको थियो । उनकी श्रीमती मुना राईले कनिकुथी गरेर डाइलासिस गर्दा लाग्ने खर्च तथा घरमा खानेकुराको व्यवस्था गर्थिन् ।

तर कोरोनाको कारण उनले अहिले रोजगारी गुमाउनुपरेको छ । उनी भक्तपुरको एक कारखानामा गलैँचा बुन्ने काम गर्थिन् । नियमित काम गर्दा १५ हजार रुपियाँ आउने गर्दथ्यो । त्यहीले गुजारा र श्रीमानको डाइलासिसमा लाग्ने खर्च धान्दै आएकी राईलाई अहिले त्यो खर्च धान्न धेरै मुस्किल परिरहेको छ ।

गलैँचा बुन्ने काम पनि छैन, काम पाइहाले पनि श्रीमानलाई हप्तामा तीन पटकसम्म डाइलासिसको लागि अस्पताल पुर्‍याउनुपर्ने हुन्छ । राईले श्रीमानलाई डाइलासिस गराउँदा हप्तामा तीन दिन अस्पतालमै बित्ने गरेको गुनासो गरिन् । महिनाभरी मरीमरी गलैँचा बुने मात्र १५ हजार रुपियाँ हुने भन्दै श्रीमानलाई अस्पताल ल्याउँदा लैजाँदा गलैँचा बुन्ने काम गर्न नपाएको बताइन् ।

श्रीमान् काम गर्न सक्नुहुन्न, राईले थपिन्, ‘साथीभाइ र आफन्तसँग सरसापट मागेर खर्च चलाइरहेको छु । काम पनि छैन । अहिले अरूसँग लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।’
मिर्गौला रोगी परिवारलाई राज्यले रोजगार दिनसके उपचारमा सहज हुने उनको भनाइ छ ।

मिर्गौला डाइलासिस निःशुल्क भए पनि उसले नियमित लगाउनुपर्ने सुई, प्रोटिन, क्याल्सियम जस्ता औषधि भने किन्नुपर्ने हुन्छ । शरीरमा आवश्यक मात्रामा खाद्यान्न, रगतको मात्रा पुगेन भने कठिन हुन्छ ।

बागलुङ ढोरपाटन नगरपालिकाका नरबहादुर छन्त्यालको समस्या कम छैन । दुुई दशकअघि २०५७ सालमा मिर्गौला फेल भएपछि ०५९ सालमा भारतमा गई मिर्गौला प्रत्यारोपण गराएका थिए । १४ वर्षपछि उक्त मिर्गौलाले काम गर्न छाड्यो र पुनः डाइलासिस गराउनु पर्दछ ।

भारतमै प्रत्यारोपणका लागि ३० लाख रुपियाँ खर्चनुभएका छन्त्यालले ढोरपाटनमा रहेको जग्गा जमिन सबै बिक्री गरिसके । बालाजु बस्दै आएका छन्त्याल राष्ट्रिय मिर्गौला केन्द्रमा नियमित डाइलासिस गराइरहेका छन् । उनको समस्या उस्तै छ । प्रत्यारोपण गरेको मिर्गौला फेल भइसक्यो । अर्को प्रत्यारोपण गर्न सम्भव छैन । नियमित आम्दानीको स्रोत छैन । कोरोनाले झनै जीवन कठिन बनाइदिएको छ ।

प्रत्यारोपण रोकिँदा समस्या

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर कार्यकारी निर्देशक प्रा.डा. प्रेमराज ज्ञवालीले प्रत्यारोपण रोकिँदा समस्या परेको बताएका छन् । उनले भने, ‘मिर्गौला रोगीहरू जो नियमित डाइलासिस गराइरहेका छन् उनीहरूलाई ठूलो समस्या छ । बन्दाबन्दीले गर्दा उनीहरूमा यातायातको समस्या छ ।

कतिपय रोगीलाई हातमुख जोर्न नसक्ने अवस्थाका छन् । एक जनाले काम गरेर उपचारसहित परिवार पाल्नुपर्ने अवस्थाका बिरामी बढी समस्यामा परेका छन् । अहिले हामीले मिर्गौला प्रत्यारोपण गर्न सकेका छैनाैं । नेपालमा मात्र नभएर कोभिड-१९ को कारणले विश्वका कुनै पनि अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको छैन । अब मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भन्नेमा पुगेका छौंं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७