नागरिकता र राहदानी कीर्ते गर्ने दुई जना पक्राउ


२२ आश्विन २०७७, बिहीबार
arrest web2020 10 08 02 48 21

धनकुटा, २२ असोज । नागरिकता र राहदानी कीर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका-२ का ३० बर्षीय भीमराज लिम्बू र ३६ बर्षीय हडिन रोगु (लिम्बू) छन् ।

फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले जानकारी दिएका छन् । भीमको नागरिकता हडिनले लगेर हराएको भनी जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि निकालेका थिए ।

भीमको विवरणमा हडिनको फोटो टाँसेर निकालिएको नागरिकताको प्रतिलिपिबाट हडिनले राहदानी समेत लिएका छन् । त्यसपछि भीमले पनि पुनः आफ्नो नागरिकता हराएको भनी तेस्रो प्रतिलिपी लिएका छन् ।

हडिनले नागरिकताको प्रतिलिपी र राहदानी निकाले भने भीमले पनि नागरिकता प्रतिलिपी लिईसकेपछि अनुसन्धान गर्ने क्रममा उनीहरुको किर्ते गरेको खुलेको एसपी अधिकारीले बताए ।

‘अनुसन्धानको क्रममा उमेर कम देखाउन हडिनले नागरिकता किर्ने गरेको पाइएको छ । विदेश जान, लोकसेवा भिड्ने लगायतका काम उमेर कम आवश्यक पर्ने भएकोले सोही प्रयोजनमा दुरुपयोग गर्न नागरिकता किर्ते गरेको देखिन्छ ।’ एसपी अधिकारी भने ।

नागरिकता र राहदानी कीर्ते गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालयले २७ जेठ २०७६ मा जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी दिएको थियो ।

१६ महिनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नागरिकता तथा राहदानी कीर्ते मुद्दामा उनीहरुलाई जिल्ला अदालत धनकुटामा म्याद थप गरी घटनाको बिषयमा थप अनुसन्न्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७