शेरधन राई : भोजपुरको पसल भञ्ज्याङदेखि मुख्य मन्त्रीसम्म


२६ माघ २०७४, शुक्रबार
Sherdhan Rai

काठमाडौं २६ माघ, प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। एमाले सचिव समेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन्। संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ ।

Sherdhan Rai

पसल भञ्ज्याङदेखि मुख्य मन्त्रीसम्म
भोजपुर सदरमुकामबाट १४ कोष टाढा पर्दछ, थिदिङखा गाउँ (साबिकको गाविस) । त्यही गाउँको पसलभञ्जाङ भन्ने टोलमा २०२७ सालमा जन्मिएका हुन् शेरधन । अहिले बिस्तारै सडक पुग्दैछ । तर, उतिबेला गाउँ पुग्न सदरमुकामदेखी एक दिन पैदल हिडेर मात्रै पुगिन्थ्यो । सामान्य किसान परिवार । बिहान बेलुकी दाउरा–घाँस गरे स्कुल जानु सामान्य दैनिकी जस्तै थियो । भुगोलको विकटताको हिसाबले दैनिकी निकै कठिन र जटिल थियो । तर, चेतनाको हिसाबले भोजपुर उर्बर । त्यही चेतनाले उनलाई पनि राजनीतितिर तान्यो । जतिबेला उनले समाजलाई सामान्य हिसाबले चिन्न सके, ठिक त्यतीबेला देखी संगठित भएर लागिहाले उनी । सबै खालका अन्याय, विभेद र असमानता हटाउनका निम्ती लड्न र लाग्न जरुरी छ भन्ने चेतनाले डोहोराएर उनी अनेरास्ववियुको प्राकमा संगठित भए । ०४४ बाट उनको यात्रा सुरु भयो ।

अखिलको प्राकबाट अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र पूर्वाञ्चल संयोजक भए । सक्रिय शेरधनलाई अखिलमा स्थापित हुन त्यतिधेरै समय लागेन । अखिलमा उनको यात्रा तेज गतिमा नै अघि बढिरहेको थियो, तर एमाले विभाजन भयो । ०५४ मा एमाले विभाजन भएको बेला उनी एमालेमा उपसचिव थिए । भोजपुरे अधिकांस नेता मालेमा गएपछि उनले पार्टीको कमाण्ड समाल्नुपर्ने भयो । अखिलको यात्रालाई पूर्ण बिराम लगाएर पार्टी सम्हाल्न भोजपुर गए । अखिलको लोभलाग्दो यात्रालाई पार्टीको कमाण्ड सम्हाल्नु उनको त्यो समयको ऐतिहासिक जिम्मेदारी थियो ।

विभाजित अवस्थामा २०५४ सालमा उनकै नेतत्वमा एमालेले चुनाव लड्यो । भोजपुर एमालेको लालकिल्लाको रुपमा स्थापित भयो । २०५६ सालमा संसदीय निर्वाचनमा सबैभन्दा कान्छो उमेरका संसद उनै थिए । ०६४ चैत्र २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा एमाओवादीका सुदन किरातीसँग पराजित भएका राई पुनः दोस्रो संविधानसभाको विजयी भए । दोस्रो संबिधानसभामा निर्वाचित भएपछि संसदको सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा केही समय काम गरे । लगत्तै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । हाल पार्टीको वैकल्पीक पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर एकको सह–संयोजकको जिम्मेवारीमा छन् ।

सधैं अडिक र अविचलित
२०५४ सालमा संसदीय चुनाव लड्दै गर्दा उनी २७ बर्षे लक्का जवान थिए । आकर्षक र खाईलाग्दो अनुहार । पोष्टरमा उनको तस्बिर देखेर उनका समर्थकहरुले नारा लगाएका थिए,‘भोट कसलाई, हाम्रो कान्छा भाईलाई ।’ भोजपुरे जनताहरुको त्यही कान्छा त्यही बेलादेखी अविचलित रुपमा एमालेको अभियान र आन्दोलनमा लागिरहेका छन् ।

एमाले विभाजन कालमा पार्टीलाई सम्हाले । तत्कालिन पार्टी उपाध्यक्ष अशोेक राईले पार्टी छोडेर नयाँ पार्टी बनाउदै गर्दा धेरै भोजपुरका अगुवा नेताहरुले पार्टी छोडे । त्यतिबेला शेरधन जिल्ला अध्यक्ष थिए । २४ जिल्लाका आदिवासी जनजाति मुलका पार्टी अध्यक्षहरुले एमाले बचाउँ अभियान सुरु गरे । त्यो अभियानका नेतृत्वदायी भुमिकामा थिए शेरधन । एमालेको अभियानमा सधैं उनी अडिक रहे । टुटफुट र बिभाजनमा उनी अविचलित रुपमा एमालेको रक्षामा लागिरहे ।

संसद र मन्त्रीको भुमिका
शेरधनले संसदको निकै प्रभावी सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा केही समय काम गरे । उनी संसदको सुशासन तथा अनुगमन समितिको सभापति रहदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई बोलाएर स्पष्टीकरण समेत सोधेका थिए । प्रमुख आयुक्तसहितका अधिकारीहरुलाई अख्तियारमाथि हाल उठिरहेका विभिन्न प्रश्नका बारेमा प्रष्टीकरण सोधेपछि त्यो बेला उनको कदम चर्चामा थियो । उनले कार्कीलाई सोधका थिए, ‘अनुसन्धान कसरी गरिन्छरु कारवाहीका प्रक्रियाहरु कसरी अगाडि बढाइएको छरु त्यहाँका गुप्तचर र जनशक्तिको अवस्था कस्तो छरु अहिले उठिरहेका विभिन्न प्रश्नहरुको सन्दर्भमा अख्तियारको भनाई के हो ? निर्दोष मान्छेहरु पनि कारवाहीमा परिरहेका छन् कि ?’ जतिबेला लोकमानलाई संसदीय समितिमा बोलाएर उनले प्रश्न सोधे त्यतिबेला लोकमानको जगजगी र आतंक थियो । त्यही बेला जोखिम मोलेरै उनले समितिमा बोलाएका थिए ।

सूचना तथा सञ्चारमन्त्री भएको बेला पनि उनले नीति निमार्णको सन्दर्भमा राम्रो काम गरेका थिए । उनी सञ्चार मन्त्री भएको बेला बनेको आम सञ्चार नीति निकै उपलब्धी मानिन्छ । राष्ट्रियता र समावेशीताको हिसाबले यो आम सञ्चार नीतिलाई सञ्चार क्षेत्रको कोशेढुङ्गा मानिन्छ । आमसञ्चार प्रतिष्ठान गठन, विज्ञापन परिषद् निर्माण, क्लिन फिड, सार्वजनिक प्रशारण सेवाको सन्दर्भमा उनले नीतिगत रुपमा दिर्घकालिन रुपमा काम गरेर छोडेका छन् । क्लिन फिड राष्ट्रियताको सन्दर्भमा निकै ठुलो राख्ने नीति हो । तर, हाल भारतीयहरुको दबाबमा यो नीतिलाई लागु गर्न दिइएको छैन । त्यसो त सञ्चारमन्त्री भएकोबेला समयको कारण सोचे जस्तो काम गर्न नसकेकोप्रति उनी सचेत छन् । भन्छन्, ‘निश्चय नै मसँग धेरै योजनाहरू थिए, तर त्यत्ति हुँदाहुदै पनि धेरै कामहरू गर्न सकिएन किनभने निश्चित सीमा, समय र कार्यभारले गर्दा त्यो सम्भव भएन । हामीसँग समय थोरै थियो । प्रमुख कार्यभार संविधान निर्माण थियो । यसले गर्दा पनि समृद्धि र विकासका काममा चाहे जस्तो समय दिन सकिएन, तर अब ती कार्यभारहरू सम्पन्न भएका छन् । अब हाम्रो सम्पूर्ण ध्यान विकास समृद्धिको लागि हुनेछ ।’

सपना समृद्ध प्रदेश नम्बर एक
शेरधन यसपालीको निर्वाचनमा भोजपुर क्षेत्र न।२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । त्यसो त उनले चाहेको भए उनी प्रतिनिधिसभाको लागि उम्मेदबार बन्न उतिधेरै अप्ठ्यारो थिएन । तर, उनले प्रदेशसभा सदस्य नै रोजे । त्यसको कारण हो प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्ने उनको आकङ्क्षा ।

प्रदेश नम्बर एकमा उनले अनन्त सम्भावना देखेका छन् । प्रदेश नम्बर एकलाई नेपालकै समृद्ध प्रदेश बनाउने उनको सपना छ । ‘हाम्रो प्रदेश अन्य प्रदेशको तुलनामा सम्भावनै सम्भावना बोकेको प्रदेश हो । हामीसँग विश्वकै उच्च शिखर सगरमाथालगायतका अन्य हिमालहरू छन् । धार्मिक र सांस्कृतिक हिसाबले पनि हामी अघि छौं,’ भन्छन्, ‘एक नम्बर प्रदेशलाई नेपालकै समृद्ध प्रदेश बनाउन सकिन्छ । त्यो आत्मविश्वास म सँग छ । त्यो आधार पनि छ ।’

सपनाले थिचिएका शेरधन
शेरधनको राजनीतिक यात्रा सधैं रफ्तारमै दोडिरहेको छ । धेरै घुम्ती र मोड आए पनि गति तेज नै छ । तर, एउटा जीन्दगी पछाडि नै छोडिएको छ । उनको विवाह अहिलेसम्म भएको छैन । मुलत राजनीतिक दौडधुपको कारण नै विवाहको लागि समय नभएको उनले बताउने गरेका छन् । उनले राजनीति यात्रामा पाएको सफलताको कारण उनको निष्ठा र इमानदारिता नै हो । सबै कामहरु निष्ठा पूर्वक गरेको बताउँछन् शेरधन । उनी संसद, मन्त्री संसदीय समितिका सभापति भइसके । तर, उनको बुवाआमा भोजपुरको पसलभज्याङमै छन् । बुवा अझै हलो जोत्छन् । आमा पतकर बटुल्छिन् । शेरधनको लागि आफ्नो र परिवारको सुखभन्दा सबैको सुख महत्वपूर्ण रह्यो । भन्छन्,‘हामी सबैको सुखद र उज्यालो भबिष्यको लागि मेरो विगत र बर्तमान समपर्ण गरेको छु ।’

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७