नयाँ कोरोना खोपले जगायो थप आशा


३ मंसिर २०७७, बुधबार
vacine covid corona

काठमाडौं, ३ मंसिर । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् ।

यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित रहन सक्ने भएकाले पनि उत्साह बढेको छ । कोभिडका लागि हालसम्म दाबी गरिएको यो सबैभन्दा प्रभावकारी खोप हो ।

केही दिनअघि फाइजर कम्पनीले तयार गरेको खोप ९० प्रतिशत व्यक्तिमाथि सफल भएको दाबी गरिएको थियो । तर त्यसलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने चुनौती थियो । उक्त खोप सामान्य फ्रिजमा ५ दिनसम्म मात्र सुरक्षित रहन सक्ने फाइजरले जनाएको छ ।

स्वास्थ्य वैज्ञानिकहरूले फाइजरको खोपको भण्डारण र ओसारपसार सहज नहुने बताएका थिए ।
खासगरी विपन्न मुलुकका लागि भण्डारण चुनौतीपूर्ण हुने उनीहरूको भनाइ थियो । रुसले निर्माण गरेको ‘स्पुतनिक–५’ खोप ९२ प्रतिशत प्रभावकारी दाबी गरिएको छ ।

‘फाइजरको खोप हाम्रा लागि मात्र नभई छिमेकी भारतलगायतका देशका लागि समेत टाउको दुखाइ भएको थियो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मोडर्ना खोपको प्रभावकारिता मात्र नभई भण्डारण गर्ने तापक्रमले पनि आशा जगाएको छ । यसका लागि हामीसँग भएकै भण्डारण र परिवहनको व्यवस्था उपयोग हुन सक्छ ।’

सहप्रवक्ता डा. अधिकारीले हाल अन्तिम परीक्षणमा रहेका खोपलाई धेरै जनसंख्यासम्म पु¥याउने सबैभन्दा ठूलो अवरोध त्यसको भण्डारण र ओसारपसार रहेको बताए । सामान्य कोठाको तापक्रममा दुई–तीन घण्टा राख्न नसकिने खोपको नेपाल जस्तो भौगोलिक विकटता भएको मुलुकमा कामै नरहेको उनले बताए ।

‘अत्यन्त न्यून तापक्रममा भण्डारण गर्न सकिने खोप उपयोग गर्नका लागि सम्बन्धित दक्ष जनशक्ति, ढुवानी, भण्डारणलगायतका संरचनालाई अद्यावधिक गर्न थप स्रोत साधन र लगानी गर्नुपर्छ,’ उनले भने ।

उनका अनुसार नेपालका स्वास्थ्यकर्मी जुन तापक्रममा भएका खोप राख्न र उपयोग गर्न अभ्यस्त छन्, त्यसभन्दा चिसो तापक्रममा राख्न सकिने खोपलाई चलाउन जनशक्ति र भूगोललगायतका कारण झन्झटिलो र खर्चका हिसाबले महँगो हुन सक्छ । मोडर्नाका अनुसार उसको खोप भने उपलब्ध मेडिकल फ्रिजर र रेफ्रिजेरेटरमै तापक्रम ‘मेन्टेन’ गर्न सकिन्छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७