विदेशको कमाइ, स्वदेशमा लगानी


३ मंसिर २०७७, बुधबार
agriculture

बागलुङ, ३ मंसिर । पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किएका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउँछन् ।

विदेश जानुअघि देशमै सिकेको सीपले उनलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बोलेरो जोड्यो । पाँच वर्षे करार अवधि भ्याएर घर फर्किएका उनी फेरि विदेश फर्किन चाहेनन् । अहिले उनले यातायात व्यवसायमा हात हालेका छन् ।

जैमिनीकै राङखानीका बोमबहादुर विकले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गरेका छन् । विभिन्न देश गरी लामो समय विदेश बसेका विकले राङखानीकै व्याडथलामा फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन् । मलेसिया, साउदीदेखि कोरियामा मात्र १० वर्ष बिताउँदा नमरेको पैसा कमाउने धित मार्न उनले गाउँमै लगानी गरेका हुन् ।

विदेशमा कमाएको धेरथोर पैसा साना व्यवसायमा लगानी गर्दा निरन्तर आम्दानी र अन्यलाई रोजगारी समेत हुने उनको बुझाइ छ । उनको उद्योगमा पलङ, कुर्ची, टेबल, झ्यालढोका लगायतका काठका सामग्री निर्माण गरिन्छ । यसबाट उनी बाहिरी बजारमा जाने गाउँको पैसा गाउँमै रोकिएको जिकिर गर्छन् । उद्योगमा ५० लाख रुपैयाँ लगानी गरेको विकले बताए ।

‘धेरै विदेश धाइयो अलिअलि कमाइ भयो, विदेशको कमाइ भेलबाढी हो धेरै टिक्दैन’, विक भन्छन्, ‘निरन्तर आम्दानीका लागि देशमै केही गर्नैपर्छ ।’ लगानी नगरी प्रतिफल नआउने भन्दै विकले कमाएको पैसा यत्तिकै राख्दा कुनै फाइदा नहुने बताए । विकको फर्निचरमा उनको परिवार र केही गाउँका युवाले समेत काम गर्छन् ।

‘मैले ४०–५० लाख रुपैयाँ लगानी गर्दा घरपरिवार र छिमेकीलाई समेत काम पुगेको छ’, उनी भन्छन्, ‘काम भए कमाइ हुन्छ, कमाइ भए खर्च पुग्छ ।’ उनले विदेशका मानिसहरुको व्यवसायप्रतिको मोह देखेर आफूले पनि सानो व्यवसाय थालेको बताए । जैमिनी–१० राङखानीका यम पुन दुबईबाट फर्किएका हुन् ।

दुबईमा काम र दाम धेरै राम्रो थियो तर उनी ११ वर्षको दुबई बसाइ सकेर गाउँघरमै व्यवसायमा लागेका छन् । उनले दुबईमा कमाएको पैसा लगानी गरेर कुश्मीशेरा बजारमा ‘जैमिनी कृषि तथा पशुपंक्षी फार्म एण्ड रिसर्च सेन्टर तथा ब्लक उद्योग’ सञ्चालनमा ल्याएका छन् ।

विदेशको सिकाइ र भोगाइलाई साना व्यवसायमा लगाउने योजना बनाएका पुनले ब्लक उत्पादनदेखि पक्षीको फार्मसम्मका लागि ५० लाख रुपैयाँ लगानी गरेका छन् । ‘ठूलो योजना बनाएर कामको थालनी गरेका छौँ’, पुन भन्छन्, ‘ब्लक उद्योगबाट शुरु गरेका छौँ, उद्योगबाट दैनिक ५०० ब्लक निर्माण हुनेछ, त्यहाँ तीन व्यक्तिले रोजगारी पाउँछन् ।’

उद्योगअन्तर्गत बङ्गुरपालन सुरु भएको छ । पाँच सय बङ्गुर पाल्ने योजना छ । त्यहाँँ बङ्गुरपालनसँगै कुखुरा, टर्की, बट्टाइ, कडकनाथ र माछापालन गर्ने लक्ष्यसाथ अहिले काम शुरु गरिएको छ ।

‘आफ्नै ठाउँमा गरे हुन्छ भन्ने सन्देश दिने इच्छा छ’, पुन भन्छन्, ‘विदेशमा दुःखले कमाएको स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने लक्ष्य हो ।’ तीन युवाका अतिरिक्त जैमिनीमा विदेशमा कमाएर गाउँघरमा लगानी गर्ने युवाको उल्लेख्य संख्या छ ।

पशुपालन, व्यापार, व्यावसायिक केराखेती, माहुरीपालन तथा साना उद्योगको सञ्चालनमा युवाले सहभागितात्मक लगानी बढाएका छन् । युवाको सक्रियताअनुसारको साथ स्थानीय सरकारले नदिएको युवाहरुको गुनासो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७