गौर हत्याकाण्डका दोषीमाथि अविलम्व कारवाही गर्नुपर्छ : प्रभु साह


३ मंसिर २०७७, बुधबार
126348215 181108873637109 5180922261235258794 n

गौर, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीहरुमाथि अविलम्व कारवाही हुनुपर्ने बताएका छन् ।

बुधबार दिपावली तथा छठ पर्वको अवसरमा रौतहटको बौधीमाई नगरपालिका–४, इनरवारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका नेता साहले रौतहटको कलंकको रुपमा राजपुर बम काण्ड र गौर हत्याकाण्ड रहेको बताए ।

उनले राजपुर बम काण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डको दोषी खुलेआम घुम्नु दुःखद रहेको बताए । हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै नेता साहले अपराधीलाई कारवाही गरी रौतहटमाथि लागेको कंलक हटाउन ध्यानाकर्षण गराएका हुन् ।

घटनाको छानबिनका लागि गठन गरिएको आयोग समेतले अपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहले बताए ।

‘दुई काण्डका कारण रौतहटको नाममा ठूलो कलंक लागेको छ । एउटा बम काण्ड र अर्को गौर काण्ड । बम काण्डको छिनोफानो त भैसक्यो तर गौर हत्याकाण्डको पीडितले न्याय पाउन बाँकी छ । रौतहटमाथिको कलंक हटाउन गौर हत्याकाण्डको अनुसन्धान हुनु जरुरी छ । यसमा जोसुकै व्यक्ति दोषी देखिन्छ भने त्यसलाई दण्डित गर्नुपर्छ ।’

नेता साहले भने, ‘यहाँ जाहेरी दर्ता भएको छ, तत्काल न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ । त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन । गौर हत्याकाण्डबारे आँखा चिम्लेर बस्न सकिँदैन । यस घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ, पीडित पक्षले न्याय पाउनु पर्छ ।’

नेता साहले थपे, ‘तर आज यति दिन बितिसक्दा पनि न्यायको लागि गुहार्नुपर्ने र दोषीलाई कारवाही नहुने अवस्था आउनु दुःखद छ ।’ “हामी ती वीर सहिदहरुको पीडित परिवारलाई विश्वस्त पार्न चाहन्छौं कि हत्याराहरु अब छिटै जेलभित्र हुनेछन् । अब गौर हत्याकाण्डको अपराधीलाई सजाय दिन विलम्ब हुनु हुँदैन । म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, नेता साहले भने ।

२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा तत्कालीन नेकपा माओवादीका २७ जना कार्यकर्ताको हत्या गरिएको थियो । हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजना उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको छ । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन् ।

कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरु त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेललगायतका नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७