कोरोना जोखिमले तल झरेनन् मुस्ताङी


९ मंसिर २०७७, मंगलवार
mustang 1

मुस्ताङ, ९ मंसिर । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मंसिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् ।

जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड–१९) ले पूरै फेरिदिएको छ ।

विगतमा कात्तिकदेखि बेँसी झर्न थालेका मुस्ताङी फागुनमा फर्कने गर्दथे तर अहिले कोरोना भाइरसको सङ्क्रमणको जोखिमले उनीहरू आफ्नो थातथलो नछाड्ने मनस्थितिमा पुगेको उपल्लो मुस्ताङको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट बताउँछन् ।

उनी भन्छन्, ‘कहिल्यै पनि चिसो याममा आफ्नो ठाउँमा नबसेकाहरू पनि यस पटक भने कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला नछाड्ने स्थानीयवासीले सोच बनाएका छन् ।’ विष्टका अनुसार विगतका वर्षमा यो समयसम्म आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशत हाराहारी मात्रै मानिस हुने गरेको भए पनि अहिले भने कोही पनि तल आएका छैनन् ।

‘हालसम्म लोमान्थाङ गाउँपालिकाभित्रको अवस्था हेर्दा पोखरा काठमाडौंतिर आफ्नै घर हुनेहरू केही मात्रै झरेका छन् तर अन्य झरेका छैनन्’, लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदील बताए ।

अधिकृत सुवेदी भन्छन्, ‘पालिकाका अध्यक्ष झर्न चाहनु भएको छैन, म मात्रै झरेर पनि अर्थ हुँदैन गाउँका सबै यहीँ छन्, उनीहरूसँगै म पनि यहीँ बस्छु भन्नु भएको छ अध्यक्षले पनि ।’ गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७