सम्बन्धविच्छेद मुद्दा दायरपछि श्रीमती र छोरीमाथि एसिड प्रहार


प्रकाशित मिति : November 24, 2020

धनुषा, ९ मंसिर । २९ कात्तिकमा लक्ष्मीपूजाको तयारीमा लागेकी आरतीदेवी साह तीनवर्षे छोरीलाई दूध किन्न नजिकको पसलमा पठाउँदै थिइन् । ढोकामा उभिएर छोरीलाई बोलाइरहेकी आरतीको दाहिने गाला, आँखा र हातमा एक्कासि असह्य हुने गरी पोल्यो ।

एक्कासी गाला, आँखा, हात र खुट्टा धारिलो हतियारले काटे जसरी पोल्न थाले । उनी चिच्याउँदै ढोकामा थचक्क बसिन् । जलनले छटपटाउँदै गर्दा घरअगाडिबाट दौडिँदै गरेका आफ्नै श्रीमानलाई देखिन् । तीन वर्षे छोरी रिया पनि आरतीसँगै चिच्याइरहेकी थिइन् । छोरी र नातिनीको चिच्याहट सुनेर कोठाभित्रबाट अतालिँदै उनका बाबु–आमा सुबोध साह र सुनिता बाहिर आए ।

‘छोरी र नातिनीलाई तेजाब हानेका रहेछन्,’ सुबोध भन्छन्, ‘एकैछिनमा छोरीको सबै शरीर जलिसकेको रहेछ । नातिनीको पाखुरा र टाउकोमा केही छिटा परेको रहेछ ।’आरतीको पाँच वर्षअघि जनकपुरधाम–७ का सञ्जीव साहसँग विवाह भयो । सञ्जीवले मागेजति दाइजो दिएर धुमाधामसँग विवाह भए पनि केही समय लगत्तै आरतीलाई कुटपिट गर्न थाले । ‘छोरीलाई दिनदिनै कुट्न थाल्यो, करेन्ट पनि लगाउन थाल्यो,’ छोरीको उपचारका लागि काठमाडौं कीर्तिपुरस्थित अस्पताल आएकी सुनिता भन्छिन् ।

श्रीमानको निरन्तर कुटपिट सहन नसकेर आरती डेढ वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । उनका बाबु सुबोधका अनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय धनुषाको रोहबरमा आरती र सञ्जीव अलग–अलग बस्ने सहमति भएको थियो । सोहीअनुसार अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर भएको थियो । ‘लकडाउनले गर्दा अदालत बन्द भएपछि फैसला हुन पाएन,’ सुबोध भन्छन्, ‘दीपावलीपछि फैसला हुनेवाला थियो । अपराधीले यस्तो गर्‍यो ।’

कीर्तिपुर अस्पतालमा पहिलो शल्यक्रियापछि आरतीलाई ब्यान्डेजले बेरिएको छ । उनको बायाँ हात र बायाँ गालाबाहेक शरीरभर ब्यान्डेज लगाइएको छ । बाबु–आमासँग कुरा हुँदै गर्दा बायाँ हातका औँला हल्लाएर आफूले पनि बोल्न चाहेको संकेत गरिन् ।

‘स्टिलको गिलासमा ल्याएको थियो,’ उनको मुखबाट लरबराएको सानो स्वर निस्कियो । सम्बन्धविच्छेद मुद्दा दर्ता गर्दा पनि आफूहरूले केटा पक्षबाट एक रुपैयाँ पनि नचाहिने बताएको सुबोध बताउँछन् । ‘मलाई छोरीको ज्यानको माया थियो । उसले सधैँ कुटपिट गर्न थालेपछि एक रुपैयाँ पनि चाहिएन, तर छोरी बाँच्नुप¥यो भनेर मुद्दा दर्ता गरेका हौँ,’ उनी भन्छन् ।

केटा पक्षको चाहनाअनुसार नै सुबोधले आरतीको विवाहमा ऋण गरेर भए पनि मोटरसाइकल र एक तोला सुन दाइजो दिए । ‘ठेलामा चाउमिन बेचेर जम्मा गरेको पैसाले छोरीको बिहे गरेको हुँ,’ उनी भन्छन्, ‘विवाहमा मात्र १० लाख रुपैयाँ खर्च भएको थियो ।’

सुबोधको एक आना जमिन छैन, घर हुने कुरै भएन । आरतीसहित चार छोरी र दुई छोरा उनले भाडाको कोठामै हुर्काएका हुन् । ‘गरिब हुँ । जमिन र घर छैन, महिनामा ६ हजार रुपैयाँ तिरेर भाडामा बस्छौँ,’ उनी भन्छन् । आरतीमाथि एसिड आक्रमण भएपछि अतालिएकी सुनिताले अर्की १५ वर्षकी छोरीलाई फूपूको घरमा पठाएकी छिन् ।

सुबोध र सुनिता छोरीको उपचारका लागि काठमाडौं आएका छन् । नेपाली प्रस्टसँग बोल्न नसक्ने उनीहरू आफूले भोगेको पीडासमेत अरूले बुझ्ने गरी पोख्न सकिरहेका छैनन् । अरूले आफ्नो बोली बुझ्न नसकेपछि उनीहरू हात जोड्दै भन्छन्– ‘मालिक बेटी बचाइदे’ । ब्यान्डेजले बेरिएकी छोरीतर्फ एकोहोरो हेर्दै टोलाइरहेकी सुनिता अचानक भन्छिन्, ‘भगवानले दिएको छोरीको अनुहार त अब कल्पनामा मात्र रह्यो । अब त त्यो पापीले दिएको अनुहार हुने भयो ।’

उपचारमा संलग्न डा. अजय ढकालका अनुसार आरतीको दायाँ गाला, आँखा, हात, खुट्टा र छातीमा एसिडले पोलेको छ । प्राथमिक चरणको ‘स्किन ड्राफ्टिङ’ गरिए पनि उपचारमा अझै लामो समय लाग्ने उनी बताउँछन् । शरीरको २० प्रतिशत हिस्सामा एसिडले चोट पुर्‍याएकाले उपचारमा समय लाग्ने उनको भनाइ छ ।

एसिड आक्रमण गर्ने आरतीका श्रीमान् सञ्जीवलाई प्रहरीले घटना भएको तीन घन्टामै पक्राउ गरेको छ । धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतका अनुसार सम्बन्धविच्छेद मुद्दा दर्ता गराएकै कारण सञ्जीवले एसिड प्रहार गरेको बयान दिएका छन् । उनलाई एसिड बिक्री गर्ने नगेन्द्र साहलाई ५८ बोतल एसिडसहित प्रहरीले पक्राउ गरेको छ ।

१२ असोजमा सरकारले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’ जारी गरेको छ । अध्यादेशमा एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म कैद सजाय तथा आक्रमणमा परेकाको निःशुल्क उपचारलगायत प्रावधान छन् । अध्यादेश जारी भएपछि एसिड आक्रमणको यो पहिलो घटना हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्