जितपछि ढकालले भने, ‘चुनावसँगै प्यानल सकियो, अब महासंघ एक ढिक्का हुन्छ’

ढकालको व्यावसायिक यात्रा : हात हालेका सबै काममा सफलता नै सफलता


१४ मंसिर २०७७, आईतवार
Chandra Prasad Dhakal scaled

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् ।

विहान चुनाव जितेपछि सञ्चारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताएका हुन् । उनले अब गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । ‘चुनाव हारे पनि आदरणीय दाजु किशोर प्रधानलाई पनि साथै लिएर अघि बढ्छौं,’ उनले भने, ‘मलाई विश्वास गर्ने सबैमा धन्यवाद प्रकट गर्छु ।’

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो । महासंघमा निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् ।

१९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

यस्तो छ ढकालको व्यावसायिक यात्रा
बागलुङको अमलाचौरमा २०२२ असारमा जन्मिएका चन्द्रप्रसाद ढकालले २०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा सहायक स्तरमा जागिर शुरु गरेका थिए । बाल्यकालमै पिता गुमाएका उनको काँधमा आफ्ना भाइहरूको भविष्यको समेत जिम्मेवारी थियो ।

अन्ततः उनी जागिरबाट सन्तुष्ट हुन सकेनन् र ५ वर्षपछि जागिर छाडेर व्यवसायमा लाग्ने निधो गरे । यसपछि उनले २०५० सालतिर कोल्ड स्टोर हुँदै कार्गो व्यवसाय थाले । व्यवसाय धेरै राम्रो हुँदै गयो । व्यवसाय बढाउँदै उनले २०५८ सालमा इन्टरनेसनल मनि ट्रान्सफर (आईएमई) पनि स्थापना गरे । त्यसले उनलाई व्यावसायिक क्षेत्रमा स्थापित नै गरायो ।

त्यसपछि उनी निरन्तर अगाडि बढिरहे । रेमिटेन्स, बैंकिङ, इन्स्योरेन्स, पर्यटन, पूर्वाधार, जलविद्युत्, सूचना प्रविधि, अटोमोबाइल, केबलकारलगायतमा उनको लगानी छ । उनी हरेक व्यवसयाको चेन बनाउँदै अघि बढिरहेका छन् ।

उनी नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध भएको चाहिं १० वर्ष भएको छ । यस क्रममा उनले महासंघका विभिन्न समितिको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७