उपाधिका लागि नेपाल र युएई आज भिड्दै


३ फाल्गुन २०७४, बिहीबार
criket nepal1

काठमाडौं: आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ को उपाधिका लागि आज नेपाल र युएईबीच प्रतिस्पर्धा गर्दैछ। खेल नामिबियाको एन्डरर्स मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।criket nepal1

नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो। ३४ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएईले १ सय १४ रन जोडेको थियो। कप्तान पारस खड्काले ५१ रन जोडेपछि नेपालले ३१ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो।

समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहन सफल भएको हो। बुधबार नै भएको खेलमा आयोजक नामिबियालाई पराजित गरेको युएई लिगमा दोस्रो बनेको हो।

नेपालले ५ मध्ये ४ खेलमा जित निकाल्दै ८ अंक जोड्यो। पाँचौ खेलमा क्यानडालाई पराजित गरेको नेपालले पहिलो खेलमा नामिबिया, तेस्रो खेलमा युएई र चौथो खेलमा केन्यालाई हराएको थियो। दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित भएको थियो।

दोस्रो स्थानको युएईले ६ अंक जोड्यो। युएईले ६-६ अंक जोडेका तेस्रो स्थानको क्यानडा र चौथो स्थानको नामिबियालाई रनरेटपछि पारेको हो। पाँचौ स्थानमा रहेको ओमानले २ जित निकाल्दा केन्याले समूह चरणका पाँचै खेलमा हार बेहोर्‍यो।

शीर्ष २ मा स्थान बनाएसँगै नेपाल र युएईले आगामी महिना जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका छन्। प्रतियोगिता ४ मार्चमा सुरु भएर २५ मार्चमा सकिनेछ। छनोट प्रतियोगितामा १० टिमले भाग लिँदैछन्। १० मध्ये २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।

समूह विभाजन यस्तो छ :
समूह ए -वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र डिभिजन २ को विजेता
समूह बी – अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ र डिभिजन २ को उपविजेता

पहिलो चरणमा दुई समूहमा लिग खेल हुनेछ। दुवै समूहका शीर्ष ३–३ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम विश्वकपमा छनोट हुनेछन्।

छनोट प्रतियोगिताको आधारमा ३ एसोसिएट टिमलाई एकदिवसीय टिमको मान्यता प्रदान गरिनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७