कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु, ९ हजार ६५० श्रमिकलाई राहत


२६ पुष २०७७, आईतवार
korona death 1

काठमाडौं, २६ पुस । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा दुई जना र मलेसिया एक जनाको निधन भएको हो ।

संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।

समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यसैबीच एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा कोभिड १९ को विश्वव्यापी प्रभाव पछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ ।

विदेशका बिभिन्न देशमा ९ हजार ६५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको पनि गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ । हालसम्म गैरआवासीय नेपाली संघले ८६२ जनालाई काठमाडौंबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडा स्वरुप आर्थिक सहयोग समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७