‘ओलीलाई देशी–विदेशी शक्ति केन्द्रले ‘महान् राष्ट्रवादी’ को प्रायोजित पगरी गुथाउँदैछन्’


२८ पुष २०७७, मंगलवार
baburam bhattarai

काठमाडौं, २८ पुस । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी–विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादीको प्रायोजित ‘पगरी’ गुथाएर नेपाललाई परनिर्भरतामा फसाउने षड्यन्त्र गरिरहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत देशी विदेशी शक्ति केन्द्रबाट २०१७ सालपछि तत्कालीन राजा महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने भनी प्रायोजित पगरी गुथाउने तयारी भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । उनले ओलीलाई प्रायोजित राष्ट्रवादी बनाएर देशलाई निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाउने षड्यन्त्र भएको बताएका छन् ।

‘ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री–बाहिरी शक्तिहरूबाट गुथाइनेछ । नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकास र रनिर्भरतामा फसाइनेछ ! चेतना भया !’, भट्टराईले भनेका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तर्वार्तामा लिएर उनको राष्ट्रवादको चर्चा भइरहेका बेला डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले यही पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि डा. भट्टराईले ओलीको कदमको चर्को आलोचना गर्दै आएका छन् ।

प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगमनकारी भएको भन्दै नेकपा, कांग्रेस, जसपालगायतका दलहरुले सडक उत्रिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७