रोनाल्डोमाथि प्रहरी अनुसन्धान


१७ माघ २०७७, शनिबार
ro.jpg .2021 01 30

काठमाडौं, १७ माघ । इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सीमाना, एक सहरबाट अर्के सहरमा मनोरञ्जन वा बिदा मनाउने अनुमति दिएको छैन ।

युभेन्ट्सका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यो प्रोटोकल तोडेका छन् । प्रहरीले रोनाल्डोमाथि अनुसन्धान प्रक्रिया सुरु गरेको इटालीबाट प्रकाशित हुने कोरिएरे डेलो स्पोर्टस् पत्रिकाले उल्लेख गरेको छ ।

रोनाल्डो केही दिनअघि आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजको जन्मदिन मनाउन टुरिनभन्दा ९३ माइल टाढा लक्जरी रिसोर्टमा पुगेका थिए । प्रेमिका जर्जिनाको २७ औं जन्मोत्सव भव्य रूपमा मनाउन रोनाल्डो सपरिवार इटालीकै अति नै महँगो भाले डी आओस्टा स्की रिसोर्टमा पुगेको डेलो स्पोर्टस्ले उल्लेख गरेको छ । युभेन्ट्सले खेल समाप्तिको दुई दिनसम्म आफ्ना खेलाडीलाई होटेलबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्था छ ।

गत साता मात्र विश्व फुटबलमा सर्वाधिक ७ सय ६० गोलको विश्वकीर्तिमान स्थापित गरेका रोनाल्डोले एकै पटक दुई नियम तोडेका कारण नै प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अघि बढाइएको डेलो स्पोट्र्स पत्रिकाले जनाएको छ । यसै साता कोपा इटालिया कपमा युभेन्ट्सले स्पालविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा युभेन्ट्स २–० ले विजयी भयो । यस खेलपछि युभेन्ट्सले खेलाडीलाई दुई दिन आराम गर्न भनिएको थियो ।

क्लबको नियमअनुसार दुई दिनको आराम गर्न दिइएको समयमै रोनाल्डो भाले डी आओस्टा रिसोर्टमा पुगेका हुन् । पत्रिकाका अनुसार रोनाल्डोको परिवार दुई दिन होटेलमा बसेको थियो । अझ सरकारले कोभिड–१९ नियन्त्रण गर्न नै विदेशी तथा स्वदेशी नागरिकालाई एक सहरबाट अर्को सहरमा जान प्रतिबन्ध लगाएको अवस्था छ । ‘कोभिड–१९ को महामारी चलिरहँदा १५ फेब्रुअरीसम्म कसैलाई पनि सिमानाबाहिर नजान निर्देशन जारी गरिएको छ,’ इटाली सरकारको निर्देशन यस्तो छ, ‘स्वास्थ्य सुरक्षाकै लागि यो नियम सबैमा लागू हुन्छ ।’

यस्तो नियम लागू जारी भएको समयमै रोनाल्डोले फ्रान्सको सिमानानजिकको रिसोर्टमा प्रेमिका जर्जिनाको जन्मदिन मनाउन पुगे । त्यही रिसोर्टमा रोनाल्डोले गत वर्ष पनि जर्जिनाको जन्मदिन मनाएका थिए । त्यहाँ उनीहरूले स्की खेल्नुका साथै होटेलमै भव्य पार्टीको आयोजना गरेको पत्रिकाले बताएको छ । रोनाल्डोले रिसोर्टमा जान स्थानीय प्रशासन तथा क्लबसँग अनुमति समेत नलिएको बुझिन्छ ।

सामाजिक सञ्जालमा रोनाल्डो र उनकी प्रेमिकाबीचको फोटो सेयर भएपछि मात्र नियम तोडिएको थाहा पाइएको हो । त्यसपछि मात्र रोनाल्डोमाथि अनुसन्धान अघि बढाइएको हो । वेएन स्पोर्टस् पत्रिकाले रोनाल्डो कारबाहीमा परे कम्तीमा उनले नियमअनुसार चार सय पाउन्ड जरिवाना तिनुपर्ने हुन्छ । रोनाल्डोले युभेन्ट्ससँग प्रतिवर्ष २ करोड ४० लाख पाउन्डको सम्झौता गरेका छन् ।

रोनाल्डोले बुधबार आफ्नो इन्स्टाग्राममा प्रेमिकाको जन्मदिन मनाइरहेको फोटो सेयर गर्दै सबैलाई धन्यवाद दिएका छन् । ‘सबैबाट जन्मदिनको शुभकामना छ, हामी सधैँ माया गरिरहन्छौँ,’ रोनाल्डोले भने, ‘बधाई छ मेरो जीवनलाई (जर्जिना) ।’ चालू सिजनमा रोनाल्डोले युभेन्ट्सबाट सबै प्रतियोगितामा गरी २० गोल संख्या पुर्‍याएका छन् । पछिल्लो पाँच खेलमा उनले दुई पटक दुई गोल गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७