देउवालाई पौडेलको प्रस्ताव, ‘विकसित घटनाबारे धारणा बनाउन केन्द्रीय समिति बसौं’


२३ माघ २०७७, शुक्रबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकसित घटनाका विषयमा पार्टीको धारणा तयार गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।

‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन्, संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो,’ बिहीबार पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ ।’

पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको जानकारी दिएका छन् । प्रतिनिधिसभा विघटनपछि ७ पुसदेखि सुरु भएको बैठक १३ माघमा सकिएको थियो ।

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोधमा भन्दै कांग्रेसले २४ माघमा शुभेच्छुक संस्थाहरू र ३ फागुनमा जिल्ला कार्यसमितिहरूलाई विरोध र्‍याली तथा सभा गर्न निर्देशन गरेको छ । सरकारले अध्यादेशमार्फत सिफारिस गरेका ११ वटा संवैधानिक निकायका ३२ जना पदाधिकारीलाई बुधबार नियुक्ति गरेपछि कांग्रेसमा त्यसबारे धारणा बनाउन पार्टीको बैठक बोलाउनुपर्ने माग उठेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७