हानिकारक ग्याँस आयातमा कडाइ


१९ फाल्गुन २०७७, बुधबार
danger LdWyNbuMj4

काठमाडौं, १९ फागुन । विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हानिकारक ग्याँस आयातमा नेपाल सरकारले कडाइ गर्दै लगेको छ ।
हानिकारक ग्याँस उपयोग गर्ने उत्पादन तथा सामग्रीको विकल्पतिर पनि नेपाल सरकारले कदम अगाडि बढाइरहेको वन मन्त्रालयअन्तर्गत वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख शिव वाग्लेले बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय सन्धि तथा अभिसन्धिहरूमा हस्ताक्षर गरेर ओजोन तह र वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाएअनुसार काम गरिरहेका छौँ ।’ नेपाल ओजोन तह नष्ट हुनबाट जोगाउनका लागि बनेको भियना महासन्धि र मोन्ट्रियल अभिसन्धिको पक्ष राष्ट्र हो ।

त्यसक्रममा पहिलो चरणमा नेपालले क्लोफ्लोरो कार्बन ग्यास प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । सन् २००४ देखि निरन्तर यसको कटौती गर्दै सन् २०१० मा सरकारले क्लोरोफ्लोरो कार्बन उपभोग शून्य बनाएर प्रतिबन्ध लगाएको हो ।

अब दोस्रो चरणमा हाइड्रो क्लोरोफ्लोरो कार्बन प्रतिबन्ध गराउने बाटोमा सरकार अगाडि बढेको छ । त्यसका लागि वन तथा वातावरण मन्त्रालयले आधारभूत सर्वेक्षण गरी त्यसको उपयोगको मापन सन् २०११–२०१४ मा निकालिएको थियो ।

त्यो अवधिमा २३.०४ मेट्रिक टन हाइड्रो क्लोरोफ्लोरो कार्बन नेपालमा प्रयोग हुने गरेको पाइएको थियो । त्यसभन्दा पछि त्यो मापनभन्दा नबढाउने गरेर कटौती गर्दै लगिएको महाशाखामा कार्यरत केमिस्ट अनुराधा ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार सन् २०१५–२०१६ मा १० प्रतिशत कटौती गरिएको थियो । त्यसपछि सन् २०१७, २०१८ र २०१९ मा हरेक वर्ष १८.४३ मेट्रिक टन हाइड्रो क्लोरोफ्लोरो कार्बन ग्याँस कटौती गरिएको थियो । सन् २०२०–२०२१ मा ६० प्रतिशत घटाउने लक्ष्य लिएर कटौतीका लागि सूचना जारी गरिएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७