एमाले महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै, खनाल–नेपाल पक्ष नजाने


६ बैशाख २०७८, सोमबार
kp madhav.khanal

काठमाडौं, ६ बैसाख । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको आज (सोमबार) महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको आह्वानमा आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताएका छन् । बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले भने बैठकमा सहभागी नहुने बताएका छन् । एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताइन् । यो महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै उनले आफूहरु बैठकमा नजाने बताइन् । यस्तै एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न हिजो (आइतबार) नै अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराएका थिए ।

ओलीले फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको सुटुक्क बैठक राखेर माओवादीबाट एमालेमा आएका २३ जना नेतालाई थप गर्दै केन्द्रीय कमिटीे विस्तार गरेको थियो । नेपाल पक्षले त्यो विस्तारलाई विधान विपरीत भन्दै सो निर्णय खारेजीको माग गरेको छ ।
चैत ७ गते अर्को बैठक राख्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीलाई दशौं महाधिवेशन आयोजक कमिटीमा परिणत गरेका छन् । जसमा अध्यक्ष र महासचिव मात्रै पदाधिकारी छन् । आजको बैठकमा नेपाल पक्षका कति नेताहरु सहभागी हुन्छन् भन्ने विषयमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७