सेजल मृत्यु प्रकरण : प्रेमी पक्राउ, बलात्कारपछि हत्याको आशंका


२ असार २०७८, बुधबार
Sejal Koirala

झापा, २ असार । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।

पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्‍याउने बित्तिकै सेजलको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७