प्रधानमन्त्री देउवाले ‘भिजन भएको नेता’ भन्दै अर्थमन्त्री शर्माको गरे प्रशंसा


६ श्रावण २०७८, बुधबार
deuwa janardan

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अर्थमन्त्री जनार्दन शर्मा मेहनती भएको टिप्पणी गर्दै अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा आफू विश्वस्त रहको बताएका छन् । आज (बुधबार) नेपाल उद्योग परिसङ्घको १८ औं वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माको प्रशंसा गरेका हुन् ।

उनले भने, ‘हाम्रो अर्थमन्त्रीजी अत्यन्त मेहनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नु हुनेछ । उहाँले सक्नु हुन्छ पनि । अत्यन्तै मेहनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरूले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

उनले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरूले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने भन्दै सहयोगका लागि आह्वान गरे ।

उनले भने, ‘कोभिडको समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरूले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहींबाट फेरि उहाँहरूलाई अनुरोध र आह्वान गर्दछु कि नेपालमा जो महामारी फैलिएको छ, यसलाई नियन्त्रण गर्नु सरकारको कर्तव्य हो । यसलाई पालना गर्नुपर्दछ । साथै तपाईँहरूले पनि हातेमालो गरिदिनु भयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ भन्ने मलाई आशा छ ।’ प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीका कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासका लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७