कर्णाली प्रदेशका मन्त्रीलाई बस्ने कुर्सी समेत छैन, आवास नहुँदा होटेलमै बास


२० फाल्गुन २०७४, आईतवार
karnali pardesh

काठमाण्डौं, २० फागुन : कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई सातापछि पनि मन्त्रीहरूले काम गर्न पाएका छैनन् । कार्यालयमा उनीहरूका लागि बस्ने कुर्सी समेत छैन । आवासको व्यवस्था नहुँदा अझै होटेलमै बसिरहेका छन् ।karnali pardesh

आवासको व्यवस्था नहुँदा भौतिक योजना तथा पूर्वाधारमन्त्री खडकबहादुर खत्री सुर्खेतको वीरेन्द्रनगरस्थित राप्ती होटेलमा बसिरहेका छन् । ‘न बस्ने सुविधा छ, न त मन्त्रालयमा कर्मचारी छन्, अहिलेसम्म केही भएको छैन,’ मन्त्री खत्रीले भने, ‘अहिलेसम्म होटेलमै बसिरहेको छु ।’ सामाजिक विकासमन्त्री दलबहादुर रावलले पनि काम गर्न सकेका छैनन् । उनी पनि होटेलमै बसिरहेका छन् । ‘व्यवस्थापनमा ढिलाइ र कर्मचारी नआउँदा काम गर्न समस्या भएको छ,’ उनले भने ।

मन्त्रालय सचिवविहीन

सामाजिक विकास मन्त्रालयका सचिव अझै आएका छैनन् । संघीय सरकारले गिरिजा शर्मालाई सचिवका रूपमा खटाएको थियो । तर, उनी श्रम सहचारीका रूपमा कतारमा कार्यरत छन् । अहिलेसम्म कर्णाली प्रदेशको सम्पर्कमा नआएको बताउँदै मन्त्री रावलले भने, ‘प्रदेशमा कानुन बनाउने भूमिका हुने कानुन अधिकृत र मन्त्रालयका महाशाखा प्रमुखहरू पनि आएका छैनन् ।’ उनका अनुसार कर्णाली प्रदेशभन्दा बाहिर दरबन्दी र घर भएका कर्मचारी आएका छैनन् ।
भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको अवस्था पनि उस्तै छ ।

संघीय सरकारले प्रकाश राजवंशीलाई सचिवका रूपमा खटाएको थियो । भौतिक पूर्वाधार मम्न्त्रालयमा सडकसम्बन्धी ज्ञान भएको सचिव पठाउनुपर्नेमा सरकारले भवनसम्बन्धी ज्ञान भएका राजवंशीलाई पठाएको हो । तर, उनी पनि शनिबारसम्म सम्पर्कमा नआएको मन्त्री खत्रीले बताए । ‘सचिव नहुँदा काम गर्न समस्या भएको छ,’ मन्त्री खत्रीले भने । त्यस्तै अन्य मन्त्रालयमा पनि खटाएका सबै कर्मचारी पुगेका छैनन् । एक–दुई जना कर्मचारी मात्र भएकाले कामकाज प्रभावित भएको खबर नयाँ पत्रिकाले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७