देउवा निवासमा भित्र कांग्रेस केन्द्रीय कार्य समिति बैठक, बाहिर कार्यकर्ताको प्रदर्शन


२८ श्रावण २०७८, बिहीबार
shivpuri 20210812103106

काठमाडौं, २८ साउन । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ३ बजेपछि मात्रै शुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।

यता तोकिएको समयमा महाधिवेशन र क्रियाशील सदस्यता विवाद सल्टाउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवाको निवास बाहिर कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । बूढानीलकण्ठस्थित देउवाको निजी निवास बाहिर रामचन्द्र पौडेल पक्षका कार्यकर्ताहरुले बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । उता सानेपामा पनि कार्यकर्ताहरुको धर्ना जारी छ । सानेपामा धर्नाका कारण सभापति देउवाले निजी निवासमा बैठक बोलाएका थिए । तर बूढानीलकण्ठमा पनि पौडेल पक्षका कार्यकर्ताहरु बैठक बस्नुअघि नै प्रदर्शन गर्न पुगेका थिए ।

धर्नाकै बीच देउवाको निजी निवासमा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर करिब डेढ महिनायता रौतहट र बाराका कार्यकर्ताहरु अहिले पनी पार्टी कार्यालयमै धर्नामा छन् । ‘चार तहबाट नियम संगत आए अनुसार प्रतिनिधि छनोट हुनु पर्‍यो । समयमै अधिवेशन हुनुपर्छ’, धर्नामा सहभागी बारा क्षेत्र नं १ का कार्यकर्ता पेमा सिद्धि लामाले बताए ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले ‘क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, महाधिवेशन सार्न पाइँदैन,’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । वैठक चलिरहेका बेला कार्यकर्ताले नाराबाजी गरेपछि कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७