ताला तोडेर भारतीय दूतावासभित्र पसे तालिबानका लडाकु


४ भाद्र २०७८, शुक्रबार
talibans

काबुल, ४ भदौं । भर्खरै देश कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ । भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेका हुन् । त्यस क्रममा उनीहरूले कन्धारस्थित भारतीय दूतावासको दस्तावेज खोज्दै दराज खोले भने दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडी लिएर गएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडीएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेका छन् । जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के भइरहेको छ, त्यसको जानकारी प्राप्त भइसकेको छैन ।

रिपोर्टअनुसार हक्कानी नेटवर्कका झण्डै ६० हजार लडाकुले राजधानी काबुल नियन्त्रणमा लिएका छन् । जसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् । उनी हक्कानी समूहका प्रमुख सिराजुद्दिन हक्कानीका भाइ हुन् । अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाई र एचसीएनआरका प्रमुख अब्दुल्लाह अब्दुल्लासँग भेटेका छन् । यसबाट पनि कारजाई र अब्दुल्लाका गतिविधि तालिबानको नियन्त्रणमा रहेको बुझ्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७