बाढी र पहिरोले अवरुद्ध १२ सडक अझै खुलेनन्


१० भाद्र २०७८, बिहीबार
manang sadak RGaEQvLENk
फाइल फोटो

काठमाडौं, १० भदौं । बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध देशका १२ वटा सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण यस वर्ष देशभर १८२ सडक अवरुद्ध भएको थियो । त्यसमध्ये १११ वटा सडक एकतर्फी मात्रै सञ्चालनमा आएका छन् भने १२ वटा सडक अझै सञ्चालमा आउन सकेका छैनन् ।

वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेंसीसहर–चामे सडक खण्डमा भएको छ । मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध बनेको हो । सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगरछापलगायतका स्थानमा अवरुद्ध भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकअन्तर्गत रसुवा र नुवाकोट जिल्लामा विभिन्न स्थानमा अवरुद्ध रहेको छ । रसुवा जिल्लामा त्रिशूली खोला, सानो भार्खु खोला गाँजाबारीलगायतका स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छ ।

सोही सडकअन्तर्गत नुवाकोट जिल्लाको मैथली खोलामा एक महिनादेखि पूर्णरूपमा सडक अवरुद्ध छ । जुम्लामा बड्कीमा र त्रिभुवन राजपथ मकवानपुर जिल्लाको नौखन्डेमा सडक पूर्णरूपमा अवरुद्ध छ । कोदारी राजमार्ग सिन्धुपाल्चोकको लिपिङ्ग खोलामा पनि सडक पूर्णरूपमा अवरुद्ध छ ।

सडक विभागअन्तर्गका डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयले आफूसँग भएका उपकरणको प्रयोग गरेर अवरुद्ध सडक खुलाउने गरेका छन् । कतिपय स्थानमा तत्काल दुवैतर्फबाट खुलाउन नसकिने भएमा एकातर्फबाट खुलाएर सवारी साधन चल्न सक्ने बनाइएको विभागले जनाएको छ ।

सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, पृथ्वी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, मदन भण्डारी राजमार्गलगायतका राष्ट्रिय राजमार्गका विभिन्न खण्ड बाढी पहिरोले अवरुद्ध भएका थिए । विभागले ती राजमार्गमा एउटा लेनमा खुलाएको भए पनि अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् । गएको जेठ र असारदेखि नै अवरुद्ध कतिपय सडक अझै खुलिसकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७