कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट


१७ भाद्र २०७८, बिहीबार
congress

काठमाडौं, १७ भदौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौं हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया शुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै रिटमा त्यसलाई रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ । रिट आज सर्वोच्चमा दर्ता भएको र आइतबार यसको पेशी तोकिएको पोखरेलले जानकारी दिए । नेपाली कांग्रेसले भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४ औं महाधिवेशन प्रक्रिया शुरु गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

त्यसअघि गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँचौं पटक कार्यतालिका परिमार्जन गर्दै भदौ १६–१९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । छैटौं पटक परिमार्जित कार्यतालिकाअनुसार अब यसअघि महाधिवेशन हुने भनिएको भदौ १८ गते कांग्रेसले वडाहरूको अधिवेशन गर्ने भएको छ । यस्तै गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने योजना कांग्रेसले बनाएको छ ।

प्रदेश क्षेत्र क–ख को अधिवेशन असोज १ गते हुनेछ भने संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने छ । जिल्ला अधिवेशन असोज १० का लागि निर्धारण गरिएको छ । कांग्रेसले प्रदेश कमिटीको अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने योजना बनाएको छ । यसअघि आन्तरिक विवादका कारण कांग्रेस पटक–पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७