राष्ट्रिय जनगणना अन्तर्गत आजदेखि घर परिवारको सूचीकरण शुरु


३० भाद्र २०७८, बुधबार
janaganana 8ubJcCUS7M

काठमाडौं, ३० भदौं । कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसकेको १२ औं राष्ट्रिय जनगणना आज (बुधबार) देखि हुँदैछ । पहिलो चरणअन्तर्गत आज घर तथा परिवारको सूचीकरण थाल्न लागिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आजदेखि सुपरीवेक्षकहरू घरघर पुगेर घर तथा परिवारको विवरण संकलन गर्नेछन् । यो क्रम असोज १८ गतेसम्म जारी रहने छ । सूचीकरणअन्तर्गत परिवारमा रहेका महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यक सदस्यको विवरण लिइनेछ ।

यसका लागि तालिम प्राप्त ८ हजार ५ सय सुपरिवेक्षकलाई सूचीकरणमा खटाइएको तथ्यांक विभागले जनाएको छ । विभागका अनुसार असोज १८ गतेपछि गणक भर्ना गरी उनीहरूलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइनेछ । त्यसपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिने छ ।

यसअघि गत वैशाख २६ गतेदेखि नै घर परिवार सूचीकरण गर्ने, जेठ २५ गतेबाट मूल गणना थाल्ने कार्यतालिका थियो। तर कोरोना महामारीका कारण जनगणना पछि धकेलिएको हो । नेपालमा पहिलो पटक १९६८ सालमा राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० मा जनगणना गर्ने गरिएको हो ।

तर राजनीतिक घटनाक्रमका कारण पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि गरिएको थियो । जसलाई ‘जनगणना २००९–११’ भनिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । तर अहिले बढेर देशको जनसंख्या ३ करोड ४६ हजार पुगेको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७