अहिलेको संकटको कारक देउवा होइन, ओली हुन् : भीमसेनदास प्रधान


२ आश्विन २०७८, शनिबार
bhimsen das pradhan sBhr5zRyNO

काठमाडौं, २ असोज । सत्तारूढ दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अवस्थाको सिर्जना एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण भएको दाबी गरेका छन् ।

संसद् विघटन गर्ने र संविधान मिच्ने काम ओलीले गरेको भन्दै त्यसलाई अहिलेको सरकारले ट्रयाकमा ल्याउने प्रयास गरिरहेको उनले बताए । रिपोर्टर्स क्लबमा शनिबार बोल्दै उनले सरकारको अहिले नै मूल्यांकन गर्न पनि नहुने बताएका छन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकार कांग्रेसको एकमना सरकार नभएको उल्लेख गर्दै गठबन्धनका अन्य दलका कारण सरकारलाई पूर्णता दिने विषयमा ढिलाई भइरहेको स्पष्ट पारे ।

उनले कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनु चिट्ठा परेको जस्तै भएको पनि बताएका छन् । ‘यो सरकार गठन भएको दुई महिना प्लस भयो, अहिले नै सरकारको मूल्यांकन गर्न मिल्दैन । आजको समस्याको इपिसेन्टर नै केपी ओली हो । यो अवस्था कसले ल्यायो ? त्यसको मूल्यांकन जनताले गर्छन् । हिजो केपी ओलीले संसदमा एमसीसी पास गर्न सभामुखलाई धम्की दिने ? आज प्रतिपक्षमा हुँदा भूमिका फरक छ भनेर बोल्ने ? उहाँको भूमिका हेर्नुस् न । उहाँको पार्टी कांग्रेस र प्रचण्डले फुटाएको हो र ? उहाँकै कारणले फुटेको हो ।’

प्रधानले भने, ‘बरु, शुरुमा त हाम्रो सभापतिजीको ओलीसँग सहकार्य थियो । चुनावमा जाँदा कांग्रेसलाई फाइदा हुन्छ भनेर । तर, पछि हामी संसद् विघटनविरुद्ध आन्दोलनमा होमियौं, संविधान बचाउने जिम्मा कांग्रेसको काँधमा छ ।’

उनले अहिले कांग्रेसको एकमना सरकार नभएको उल्लेख गरे । ‘एकमना सरकार हुँदा केपी ओलीले तीन वर्षसम्म केही गर्न सकेनन् । बरु, उल्टै उनले आफ्नै दलका नेताहरुको मानमर्दन गरे, तर आज हाम्रो सभापतिले प्रचण्डको मानमर्दन गरेको छैन’, उनले भने, ‘हामीले त सम्मानका साथ पर्खिएको हो । मन्त्रिमण्डल विस्तार भएपछि डेलिभरको कुरा आउँछ । नागरिक समाजका अगुवाले बाटो देखाउने हो । त्यसलाई प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ ।’

वर्तमान सरकारसँग जनताले गल्ती नगरोस् भन्ने अपेक्षा राखेको पनि उनले सुनाए । उनले संविधान कार्यान्वयन गर्ने निकायमा बस्नेहरु संघीयता पक्षधर भएको भए राम्रोसँग कार्यान्वयन हुने थियो भन्ने पनि टिप्पणी गरे । ‘केपी ओली त सरकारको नेतृत्वमा हुँदा संविधान कुल्चिने काम भयो, नेतृत्वमा संघीयता पक्षधर बस्यो भने त्यो राम्रो कार्यान्वयन हुन्छ’, उनले भने ।

प्रधानले नेपालको संविधान २०७२ विश्वकै राम्रो संविधान भएको दाबी गरे । ‘हाम्रो संविधान विश्वमै अहिलेसम्मकै यो जस्तो राम्रो छैन । हामीकहाँ राष्ट्रपति महिला बनेको छ । अधिकारका सुनिश्चितता गरिएको छ’, उनले थपे, ‘यो संविधान कार्यान्वयन गर्दा नेताले बिगारेको हो । तर, यो संविधान राम्रो छ । संविधान बचाउनको लागि गठबन्धन बनेको हो ।’ उनले सरकारले केही दिनमै पूर्णता पाउने पनि दाबी पनि गरेका छन् । सरकारले पूर्णता पाएपछि सरकारले द्रुत गतिमा सेवा प्रवाह गर्ने उनको विश्वास छ । सरकारले अहिले कोभिड–१९ लाई प्राथमिकतामा राखेर काम गरेको पनि उनले सुनाए । उनले एमसीसीको लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७