२६ करोड नतिरेपछि एयर एशियाका उडान बन्द गर्दै प्राधिकरण

कालोसूचीमा हरिमान लामा र सावित्री श्रेष्ठ


२४ फाल्गुन २०७४, बिहीबार
air asiya

काठमाडौं, २४ फागुन : कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको एयर एसिया प्रालि नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २६ करोड रुपैयाँ नतिरेपछि उसका विमान उडानमै रोक लगाउने तयारी भइरहेको छ ।

air asiya

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले १५ दिनअघि विमान कम्पनीहरुबाट लिन बाँकी २६ करोड रुपैयाँ तत्काल असुल्न निर्देशन दिएका थिए । सबैभन्दा धेरै रकम बक्यौता भएको एयर एसिया हो । उसको २६ करोड रुपैयाँ कक्यौता छ । शुक्रबारसम्म २६ करोड बक्यौता नतिरे एयर एसियाका विमान उडानमा रोक लगाइने प्राधिकरणका एक उच्च अधिकारीले बताएका छन् । उनले भने–‘भोलि शुक्रबारसम्म बैंक ग्यारेन्टी पेश नगरे आइतबारबाट उडान रोक्नेछौं ।’ प्राधिकरणले विदेशी वायुसेवा कम्पनीहरुसँग २८ करोड रुपैयाँ लिन बाँकी छ । त्यसमा २ करोड भन्दा बढी रकम तिर्न बाँकी भएको एयर एशिया नै हो ।

यसैगरी एयर एशियाको जनरल सेल्स एजेन्ट (जीएसए) लिने इन्सेन्टिभ ग्रुप अफ कम्पनीका अध्यक्ष हरिमान लामाले नयाँ चलाखी अपनाएका छन् । आफूले पैसा तिर्न नसकेपछि उनले नागरिक उड्डयन प्राधिकरणसँग सेटिङ मिलाई विदेशी कम्पनीलाई पैसा तिराउन कबोल गराएर केही समय उम्कने उपाय अपनाउन लागेका छन् ।

स्रोतका अनुसार लामाकै सेटिङमा मलेसियाको अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनी एयर एशिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्कबापतको तिर्न बाँकी रहेको बक्यौता तिर्ने कबोल गरेको छ । सोमबार काठमाडौं आएका एयर एशियाका प्रतिनिधि र नागरिक उड्डयन प्राधिकरणबीच उक्त सहमति भए पनि पैसा चुक्ता हुनेमा शंका कायमै छ ।

hariman lama air asia
हरिमान लामा

एयर एसिया प्रालिको नेपालस्थित जीएसएका सञ्चालक लामा कालोसूचीमा परेपछि प्राधिकरणले साँवा र ब्याजसहित २६ करोड रुपैयाँको स्टेटमेन्ट कम्पनीलाई पठाएको थियो । बक्यौता रकम नतिरे एयर एशियाको उडान बन्द गरिदिने उड्डयन प्राधिकरणको चेतावनीपछि मलेसियादेखि प्रतिनिधि आएर बाँकी रकम तिर्ने प्रतिवद्धता जनाएको छ । तर शुक्रबारसम्म बैंक ग्यारेन्टी पेश नगरे उडान बन्द गर्ने निर्णयबाट प्राधिकरण पछि हट्न संभावना कम छ । सचिव देवकोटाले बैंक ग्यारेन्टीविना कुनै हालतमा उन्मुक्ति नदिन प्राधिकरणलाई निर्देशन दिइसकेका छन् ।

एयर एशियाले अप्रिलमा बाँकी बक्यौताको ४० प्रतिशत रकम तिर्ने र बाँकी रकम जुलाईसम्ममा चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको छ । तर, प्राधिकरण स्रोतले भने झुक्याएर एयर एसियाको उडान सुचारु गरी लामालाई जोगाउने खेलमात्र भएको दावी गरेको छ ।
मलेसियाबाट काठमाडौं र काठमाडौंबाट मलेसिया सिधा उडान गर्दै आएको उक्त कम्पनीले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको करिब ३ वर्षयताको बक्यौता तिर्न बाँकी रहेको छ । एयर एसिया एक्सले काठमाडौंमा हप्तामा ४ वटा उडान भर्दैै आएको छ ।

विमानस्थलले एयर एसिया एक्सको नेपाली उडान बन्द गर्नसक्ने चेतावनीका साथ कम्पनीको मुख्यालय मलेसियाको क्लालालम्पुरमा फागुन ४ गते पत्र पठाएपछि एयर एसियाका प्रतिनिधि नेपाल आएका छन् । लामाको समूहद्वारा सञ्चालित इन्सेन्टिभ ट्राभल्स एन्ड टूरले एयर एसियाको जीएसए लिएर नेपालमा वायु सेवा सम्बन्धी काम गर्दै आएको छ । समूहका अध्यक्ष लामासहित गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामा समेत कालोसूचीमा परेका छन् । उनीहरुलाई सूचना केन्द्रले गत मंसिर ३ गते कालोसूचीमा राखेको हो । कर्जा सूचना केन्द्रको सि.नं.५६८७ र कालोसूची नम्बर १०१०५ मा उनीहरुलाई कालोसूचीमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७