१३ अकंले बढ्यो नेप्से, लगानीकर्तामा जाग्यो आशा


५ आश्विन २०७८, मंगलवार
Nepal Stock

काठमाडौं, ५ असोज । लगातार घट्दो क्रममा देखिएको सेयर बजार आज (मंगलबार) सामान्य हरियो देखिएको छ । गएको भदौ ३ गतेसम्म लगातार बढेर ३२०० अंकको विन्दु कायम गरेको नेप्सेमा भदौ ४ गतेबाट भने घट्न सुरु भएको थियो । पछिल्लो १९ कारोबार दिनमा नै ५०० अंकभन्दा बढीको गिरावट भएको सेयर बजार परिसूचक नेप्से आज भने १३.८३ अंकले वृद्धि भएर २७१२.०७ अंकमा बन्द भएको छ ।

आज कारोबार सुरु भएको ३१ मिनेटमा नै नेप्से ८३ अंकभन्दा माथिको गिरावट हुँदा २६१३.८७ अंकसम्म झरेको थियो । त्यसपछि केही सयमा नै हरियो बन्न पुगेको नेप्से उतारचढावका क्रममा करिब ७० अंकको वृद्धि भएर २७६६.४५ अंकसम्म पुगे पनि अन्तिममा पुनः घटेर २७१२ अंकको विन्दुमा बन्द भएको छ । बजार परिसूचकमा वृद्धि भए पनि आज कारोबार रकम भने सोमबारको तुलनमा घटेको छ । आज नेप्सेमा एक करोड ३५ लाख ६ हजार ६१ कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ३६ करोड ४७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा व्यापार, वित्त कम्पनी, उत्पादनमूलक र म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेका छन् । व्यापार उपसूचकमा सर्वाधिक १.६१ प्रतिशतको गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.७५ प्रतिशतले बढेको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा ०.२ प्रतिशतको सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक २.३८ प्रतिशत, लगानी उपसूचक १.३७ प्रतिशत र जीवन बिमा उपसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ ।

आज बजारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २५ करोडका सेयर कारोबार हुँदा नबिल बैंकको साढे २० करोड, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको र हिमालयन डिस्टिलरीको पनि २० करोड कारोबार भएको छ ।

आज नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा १२२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५४ कम्पनीको भने सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोबारमा आएको मध्ये मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७८ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ४.६६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ४.२८ प्रतिशतले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सवाधिक ३.४२ प्रतिशतले गिरावट हुँदा जानकी फाइनान्सको सेयर मूल्य ३.२६ प्रतिशत, माउन्टेन इनर्जीको सेयर मूल्य २.९४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७