बार्सिलोना बेन्फिकासँग पराजित

काठमाडौं, १४ असोज । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा पनि पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० गोलले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोनामाथि जित निकाल्न बेन्फिकाका ड्रोइन नुनेले दुई गोल गरे ।
त्यस्तै राफा सिल्भाले एक गोल गरे । खेलको तेस्रो मिनेटमा नुनेले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाए । ६९ औं मिनेटमा सिल्भाले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा नुनेले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए । खेलको ८७ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो ।
बार्सिलोनाका इरिक ग्रासियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । जितसँगै बेन्फिका समूहको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेल खेलेमा ४ अंक जोडेको छ । पराजित बार्सिलोना पुछारमा छ ।