एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि समूहगत छलफल जारी


१६ आश्विन २०७८, शनिबार
5 scaled

काठमाडौं, १६ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि समूहगत छलफल भईरहेको छ ।
ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भईरहेको हो ।

महाधिवेशनमा देशभरका ६ हजार ३४७ जना प्रतिनिधिहरु सहभागी भएका छन् । १० वटा समूह बनाएर तीन वटै प्रस्तावमाथि बिहान ८ बजेबाटै छलफल सुरु गरिएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो । भोलि (आईतबार) प्रस्तुत प्रतिवेदनहरुमाथि प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सो महाधिवेशन समापन हुनेछ । अध्यक्ष ओलीले शुक्रबार सो महाधिवेशनको उद्घाटन गर्दै पार्टी विभाजनको मुख्य योजनाकार पुष्पकमल दाहाल र माधवकुमार नेपाल भएको आरोप लगाएका थिए ।

त्यसैगरी उनले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुख अग्नीप्रसाद सापकोटाले पनि आफ्नो पार्टी विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै आपत्ति जनाएका थिए । १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७