निधि निवासमा कांग्रेस सभापतिका तीन दाबेदारबीच छैटौं भेटवार्ता


१८ आश्विन २०७८, सोमबार
shasanka bimalendra prakashman ujBt4YeLT3

काठमाडौं, १८ असोज । सत्तारुढ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका तीन दाबेदार नेताहरुबीच सोमबार भेटवार्ता भएको छ ।

कांग्रेस सभापतिमा दाबी गरिरहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच निधि निवासमा भेटवार्ता भएको हो । शशांक बीपी पुत्र, विमलेन्द्र महेन्द्र नारायण निधि पुत्र र प्रकाशमान गणेशमान सिंहका पुत्र हुन् । उनीहरु तीनैजनाले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेका छन् । यी नेताबीच भएको यो छैटौं भेट हो । यसअघि पनि उनीहरुले पटक पटक छलफल गरिरहेका छन् ।

निधि निवास बानेश्वरमा भएको छलफलमा महाधिवेशनको रणनीति, सहमतिमा नेतृत्व चयन, सरकारको भूमिका लगायतका विषयमा केन्द्रित रहेको हो । कांग्रेसमा १४ औं महाधिवेशनको कार्यक्रम शुरु भएयता तीन नेताबीच बाक्लै भेटघाट भएको छ भने उनीहरुबीच एक जनालाई सभापतिको साझा उम्मेदवार बनाएर जानेबारेमा छलफल हुँदै आएको छ ।

तर तीनै नेता सभापतिका आकांक्षी भएकाले कसले कसलाई छाड्ने र स्वीकार्ने भन्ने निश्चित छैन । संस्थापन पक्षमा रहेका निधि वर्तमान सभापति शेरबहादुर देउवा आफै नेतृत्वमा उठ्ने भएपछि उम्मेदवारी घोषणा गर्दै अरु दुई नेतासँग छलफलमा छन् । संस्थापन इतरमा रहेका कोइराला र सिंह दुबै आफै नेतृत्वको आकांक्षी भएकाले लगातारको भेटमा पनि नेतृत्वको विषय टुंगोमा पुगेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७