कांग्रेस पालिका अधिवेशन : सातै प्रदेशमा देउवा पक्षको वर्चश्व, २५० वटामा विजयी


२० आश्विन २०७८, बुधबार
Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

काठमाडौं, २० असोज । सत्तारुढ नेपाली कांग्रेसको विभिन्न क्षेत्रमा भएका पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा ९संस्थापन० पक्ष अगाडि देखिएको छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा पक्ष एकल नै बहुमतमा देखिएको हो ।

मंगलबार साँझसम्म परिणाम आएका ६०५ पालिकामध्ये २५० वटामा देउवा पक्षीय नेताहरु पालिका सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंहलगायत पक्षका भने १८० जना मात्रै सभापतिमा निर्वाचित भएका छन् ।
सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन् । त्यस्तै गरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन् ।

प्रदेश–१ को १३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल-कोइराला पक्षले ४९ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । त्यस्तै गरी प्रदेश–१ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।

बागमति प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतीमा ३३ स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् ।

त्यस्तै गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका २७ जनाले मात्रै पालिको सभापतिमा जित हासिल गरेका छन् । लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशनमा पनि देउवा पक्ष अगाडि देखिएको छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने २९ जनाले मात्रै सभापति जितेका छन् । त्यहाँ पनि कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् ।

कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिकामध्ये देउवा पक्षले ३६ स्थानमा जितेको छ । त्यस्तै कोइराला र देउवा पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कपितय निर्वाचित सभापतिहरु कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन् ।
सुदूरपश्चि प्रदेशका सम्पन्न १९ पालिका अधिवेशनमा देउवा पक्ष १७ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने बझाङको १ ठाउँमा मात्रै जितेको छ । सुदूरपश्चिममा अधिकांश क्षेत्रमा पालिका अधिवेशन हुन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७