डुबानमा परेको दुहवी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा

अत्तरिया–चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा


४ कार्तिक २०७८, बिहीबार
dkfmkdg1634803577

सुनसरी, ४ कातिक । लगातारको भारी वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहवीस्थित १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ ।

डुबानका कारण मंगलबार राति साढे ८ बजेदेखि बन्द भएको दुहवी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुहवी बवस्टेसन सञ्चालनमा आएको जानकारी दिए । ‘दुहवी सबस्टेसनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेका छौं’, उनले भने ।

दुहवी सबस्टेसन डुबानमा परेपछि प्रदेश नम्बर–१ का मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत जिल्लाहरूमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

उपकरणहरूमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहवी ग्रिड शाखाका प्रमुख राजेश रेग्मीले बताए । सबस्टेसनमा रहेका चार वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभीए छ ।

अत्तरिया–चमेलिया प्रसारणलाइन पनि सञ्चालनमा
वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा बन्द भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारणलाइन पनि सञ्चालनमा आएको छ । अवरोधलाई हटाएर बिहीबारबाट प्रसारणलाइन सञ्चालनमा ल्याइएको छ ।

प्रसारणलाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पर्ने अधिकांश भागमा विद्युत् आपूर्ति प्रवाह भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७