कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीको सिटी जुलुस


८ कार्तिक २०७८, सोमबार
Janamat Party

धनुषा, ८ कात्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना कार्यकर्ता छुटाउन माग गर्दै आज (सोमबार) सिटी जुलुस निकालेको छ । सोमबार प्रदेश–२ का जिल्ला सदरमुकामहरूमा कर्मचारी दुर्व्यवहार आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सिटी जुलुस निकालेको हो ।

गएको बुधबार खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई जनमत पार्टीका कार्यकर्ताहरूले अर्धनग्न बनाएर नगर परिक्रमा गराएका थिए । त्यसलगत्तै प्रहरीले कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा १७ जनालाई पक्राउ गरेको थियो ।

आइतबार साँझ जनमत केन्द्रीय कार्यकारणी समितिको बैठकले भ्रष्टाचार, बेतिथि र कार्यकर्ता रिहाइको माग गर्दै सप्ताहव्यापी आन्दोलनको घोषणा गरेको थियो । सोही निर्णय अनुसार आज पहिलो दिन सिटी जुलुस निकालिएको हो । जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर, हाम्रा कार्यकर्तालाई रिहा गर, भ्रष्ट सरकार मुर्दावाद, भ्रष्टाचारीलाई संरक्षण गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

जनमत पार्टीले पहिलो चरणको आन्दोलन अन्तर्गत भोलि मंगलबार प्रत्येक पालिकामा मोटरसाइकल र्‍याली, १० गते वडामा कोणसभा र मसाल जुलुस, ११ गते वडामा युवादस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसल निकाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७