खोप लगाएका मानिसको पनि मृत्युको अर्थ कोरोनाको खोप प्रभावकारी नहुनु होइन ?


१० कार्तिक २०७८, बुधबार
Wen1635263812

काठमाडौं, १० कात्तिक । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड १९ जटिलताबाट मृत्यु भयो । उनको परिवारका अनुसार उनलाई पूर्ण खोप दिइएको थियो । उनी ८४ वर्षका थिए र उनलाई मल्टिपल मायलोमा भनिने एक ब्लड क्यान्सर भएको थियो ।

स्वास्थ्य अधिकारीहरू खोप विरोधी अभियान्ताहरूले खोपले काम गर्दैन भनी दाबी गर्न कोलिनको मृत्युलाई मुद्दा बनाउने छन् भन्ने चिन्ता गर्छन् । यदि कोभिड–१९ को लागि खोप लगाएपछि पनि तपाईं मर्न सक्नुहुन्छ भने खोप लगाउनुको के अर्थ ?

यस प्रश्नको जवाफ के हुन्छ ?
सीएनएनका स्वास्थ्य विश्लेषक जर्ज वासिङ्टन विश्वविद्यालय मिल्केन इन्स्टिट्युट स्कुल अफ पब्लिक हेल्थका प्राध्यापक लियाना वेनको जवाफ–

हामीले विज्ञान र अनुसन्धानले देखाएको कुराबाट सुरु गर्नुपर्छ । कोभिड १९ खोपहरू बिमारीबाट बचाउन असाधारण रूपमा प्रभावकारी छन्, विशेषगरी गम्भीर रोगबाट । यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको हालैको डाटा (तथ्याङ्क)ले कोभिड–१९ पोजिटिभ हुने सम्भावना ६ गुणा र मृत्यु हुने सम्भावना ११ गुणा घटाएको देखाउँछ ।

यसको अर्थ यदि तपाईंले खोप लगाउनु भएको छ भने खोप नलगाएको व्यक्तिको तुलनामा तपाईंमा कोभिड १९ हुने सम्भावना ६ गुणा र मर्ने सम्भावना ११ गुणा कम हुन्छ । त्यो साच्चिकै उत्तम छ । यद्यपि, कोभिड १९ खोपले तपाईंलाई शत प्रतिशत बचाउँदैन । कुनै पनि खोपले गर्दैन, वस्तुतः कुनै पनि चिकित्सकीय उपचार शत प्रतिशत प्रभावकारी हुँदैन । यसको अर्थ खोपले काम गर्दैन भन्ने होइन, अथवा तपाईले यसरी लिनु हुँदैन ।

खोपका बावजुद के केही मानिसहरूमा कोभिड १९ बाट गम्भीर परिणामहरू देखिन सक्छन् ?

अँ, सिकेको कुराको आधारमा, जेनेरल पावेल यस वर्गमा पर्छन् । हामीलाई थाहा छ कि जो व्यक्ति बुढो (वृद्ध) छन् र उनीहरूको स्वास्थ्यस्थिति ठिक छैन भने गम्भीर बिमारी हुने र संक्रमणपछि मृत्यु हुने सम्भावना बढी हुन्छ । विशेष जोखिममा ती मानिसहरू छन् जो ‘इम्युनोकम्प्रमाइज्ड’ (प्रतिरक्षा प्रणाली कमजोर भएका) छन् । मल्टिपल मायलोमा हुनुले जेनेरल पावेललाई यस वर्गभित्र राख्न सकिन्छ, र थप कुरा उनको बुढ्यौली उमेर हो, यसले जोखिमको तहलाई थप गर्न सक्छ ।

ध्यान दिनुहोस्, कि ‘बुस्टर सट’ (थप खोप) सिफारिस गरिनेका कारणहरूमध्ये यो पनि एक हो । अगस्टमा फर्कौ, संघीय स्वास्थ्य अधिकारीहरूले प्रतिरक्षा प्रणालीमा ठिकै वा गम्भीर कमजोरी भएका फाइजर वा मोडेर्ना खोप लगाएका मानिसहरूलाई तेस्रो डोज खोप लगाउन सिफासिर गरे । उनीहरूले थप डोजका बावजुद पनि कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई थप सतर्कता अपनाउन चेतावनी दिए । त्यो किनभने यो वर्गका मानिसहरू विशेष रूपमा गम्भीर परिणामको लागि अति संवेदनशील हुन्छन् ।

सही हो । कोभिड १९ खोपलाई एउटा धेरै राम्रो रेनकोटको रूपमा लिनुहोस् । यसले तपाईंलाई सिमसिमे पानीबाट जोगाउन धेरै राम्ररी काम गर्छ । तर, यदि तपाईं आँधीबेहरीमा हुनुहन्छ, र त्यसपछि तुफान आउँछ, त्यहाँ त तपाईं भिज्ने सम्भावना झनै धेरै हुन्छ । यसको अर्थ तपाईंको रेनकोट बिग्रेको थियो भन्ने हुँदैन । यसको अर्थ तपाईं खराब मौसममा हुनुहुन्छ, र रेनकोट मात्रैले तपाईंलाई सधैँ नजोगाउन सक्छ ।

यदि तपाईं अत्यधिक भाइरसको वरिपरि हुनुहुन्छ भने त्यसले संक्रमित हुन सम्भावना पनि बढाउँछ । समस्या खोपको होइन, यो हो कि त्यहाँ अत्यधिक भाइसर तपाईंको वरिपरि छ । त्यसैले सकेसम्म धेरै मानिसहरूलाई खोप दिनु मुख्य कुरा हो । त्यसले संक्रमणको समग्र दर घटाउँछ र सबैलाई बचाउँछ । र, यदि तपाई धेरै भाइरस भएको क्षेत्रमा हुनुहुन्छ भने भित्री भीडभाड भएको ठाउँमा मास्क लगाउनाले सुरक्षाको एक तह थपिन्छ ।

र हामीले नबिर्सौ कि हामीले हामीबीचको सबैभन्दा कमजोर मानिसहरूको रक्षाको लागि पनि खोप लगाउनुपर्छ, जो गम्भीर परिणामको लागि उच्च जोखिममा हुन्छन् । १३ राज्यमा ६ महिनाभर गरेको एक अध्ययनले पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरूमध्ये कोभिड–१९ बाट ४ प्रतिशत मात्रै अस्पताल भर्ना भएको देखाएको थियो ।

सीडिसीको अध्ययन अनुसार खोप लगाएको वयश्कको तुलनामा नलगाएका मानिसहरू अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी हुन्छ । अब हामीले चर्चा गरिसक्यौ कि कोही वृद्ध वा धेरै स्वास्थ्य समस्याहरू भएका व्यक्ति छन् भने अस्पताल भर्ना हुने र जीवन समाप्त हुने सम्भावना बढी हुन्छ ।

खोपमा विश्वास नहुनेहरूलाई खोप प्रभावकारी छ भन्न के भन्नुहुन्छ ?

म उनीहरूलाई ‘मेडिसिन’ (औषधि) को अध्य पक्षहरूको बारेमा सोच्न आग्रह गर्छु । भनौं न कसैलाई मुटुको रोग छ । मुटु रोग उपचार गर्ने औषधिहरू छन्, तर तिनीहरू सय प्रतिशत प्रभावकारी छैनन्, कुनै पनि हुँदैन । केवल यसकारण कि कोही आफ्नो रोगहरूसँगै अस्पतालमा समाप्त हुन्छ भने औषधिहरू खान–लिन लायक थिएन भन्ने होइन नि ।

अथवा, रोकथामको एउटा उदाहरण हेरौं । भनौं न कोही व्यक्तिले स्वस्थकर आहार गर्छ र धेरै नै व्यायाम गर्छ तैपनि उसलाई उच्च रक्तचाप र मधुमेह हुन सक्छ । यसको अर्थ आहार र व्यायाम ठिक थिएन भन्ने हुँदैन नि । यसको अर्थ रोग लाग्नबाट बच्न तपाईले सही कदम चाल्नुपर्छ भन्ने हुन्छ, तर कहिलेकाही तपाईलाई रोग लाग्न सक्छ ।

जनस्वास्थ्यको एउटा मुख्य पहेली हामीले रोकथामका बारेमा गर्ने काम पनि हो । जब रोकथाम असफल हुन्छ, तपाईंले अन्तिम नतिजा देख्नुहुन्छ, रोकथामकै कारण सबै जीवन बचाउन सकेको तपाईंले पाउनु हुन्न ।

नेसनल इन्स्टिट्युट अफ हेल्थको सहयोगमा भएको एक नमुना अध्ययनले पहिलो पाँच महिनामा उपलब्ध कोभिड १९ खोपले १ लाख ३९ हजार मृत्यु हुनबाट जोगाएको थियो । अमेरिकामा मे सम्म लगभग ५ लाख ७० हजार मानिस मरे । खोप नभएको भए ७ लाख ९ हजारको मृत्यु हुन सक्थ्यो ।

चुरो कुरो खोपहरूले काम गर्छन् । तिनीहरूले रोग संक्रमण हुने र गम्भीर रूपमा बिरामी हुने र मर्ने सम्भावनालाई घटाउँछन् । तिनीहरू शत प्रतिशत छैनन् किनभने शत प्रतिशत केही हुँदैन ।

के खोपले जाडोयाममा भाइरसको पुनरोत्थानलाई पनि रोक्न सक्छ ?

अँ, यो उत्साहजनक छ कि कोभिड १९ संक्रमण संख्या कम भएको छ । यो ग्रीस्ममा देशलाई बर्बाद बनाएको भयानक डेल्टा लहर कम भइरहेको छ । यद्यपि, संक्रमणको अर्को लहरको सम्भावना छ, विशेषगरी केवल ५७ प्रतिशत अमेरिकी जनसंख्याले मात्र पूर्ण खोप लगाएको छ । यसको रोकथाम गर्नु हाम्रो क्षमताभित्रैको कुरा हो यसका लागि हामीले कति धेरै मानिसहरूलाई खोप लगाउँछौ भन्ने कुरामा निर्भर रहन्छ भन्ने डा. एन्टोनी फौचीको भनाईसँग म सहमत छु ।

अन्ततः कोभिड १९ बाट सबैको जोखिम कम गर्ने, महामारी अन्त्य गर्ने साँचो हामी सबैले खोप लगाउनु हो । यसले हामी र हाम्रा वरिपरिकालाई बचाउँछ । सीएनएनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७