नेपाल र ताजकिस्तान भिड्दै


११ कार्तिक २०७८, बिहीबार
u23 nepal toli indonesia CtjYQ5I0Bh

काठमाडौं, ११ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज (बिहीबार) आयोजक ताजकिस्तानको सामना गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा नेपाल घरेलु टोलीलाई स्तब्ध बनाउँदै अंक खोस्ने अभियानमा छ ।

नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा बलियो टोली इरानसँग ४–० गोलले पराजित भएकाले पनि नेपाल घरेलु टोलीविरुद्ध मैदान उत्रँदा पहिलो अंकको खोजीमा हुनेछ । हारबाट प्रतियोगिताको सुरुआत गरेको नेपाललाई आजको खेलमा जितको विकल्प हुने छैन ।

आफ्नो पहिलो खेलमा ताजकिस्तानले लेबनानलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको थियो । सोही लयलाई ताजकिस्तान निरन्तरता दिने अभियानमा छ । समूह ‘बी’मा तीन अंक जोडेको इरान शीर्ष र तीन अंक नै जोडेको ताजकिस्तान दोस्रो स्थानमा छ । अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ ।

एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा लेबनानसँग आगामी आइतबार खेल्ने छ । ११ समूहका शीर्ष टोलीसहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने छन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन महिनामा आयोजना हुने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७