मोबाइल बिना बस्नै नसक्ने भएका हौं त हामी ?


१४ कार्तिक २०७८, आईतवार
internet addiciton1635649624

काठमाडौं, १४ कात्तिक । हामीले हप्तामा कति दिन आफ्नो स्मार्टफोन घरमा छाडेका छौं ? अधिकांशको जवाफ हुन्छ ‘कहिलै छैन’ ।
केही वर्ष अगाडिसम्म स्मार्टफोन सबैसँग हुँदैनथ्यो र फोन नचलाएर पनि हामी खुसीसाथ बाँचेका थियौं । तर आश्चर्यजनक अहिले त्यो विश्वभरका अर्बौं मानिसहरुका लागि एकदम जरुरी उपकरण बनिसकेको छ । फोन गर्न या म्यासेज गर्न बाहेक यसले प्रदान गर्ने अन्य सेवा र विशेषगरी केही एप्सहरु हामीलाई नभइ नहुने बनिसकेका छन् ।

यदि केही वर्ष अगाडि कसैले हामीलाई एउटा पाइन्टको सानो खल्तीमा अटाउने डिभाइसबाट च्याट गर्न, फोटो राख्न, भिडियो हेर्न, आमने सामनो भिडियो कल गर्न सकिन्छ त्यो पनि निःशुल्क भनेको भए सायदै कसैले यसमा विश्वास गर्दथ्यो होला । तर फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याट र ट्वीटरले यसलाई सम्भव पारे । आज यी एप्सहरु विश्वभर सबैभन्दा बढी चलाइने र डाउनलोड हुने एप्समा पर्दछन् ।

अहिलेका स्मार्टफोन कामका हिसाबले पनि अत्यन्तै उपयोगी बनेका छन् भने कतिपय अवस्थामा चाहिँ यसलाई अवरोधक पनि मानिएको छ । स्मार्टफोनप्रति मान्छेको निर्भरता यति धेरै बढिसकेको छ कि एकैछिन फोन साथमा नहुँदा मान्छेलाई के छुटेको जस्तो के नभएजस्तो अनौठो लाग्दछ ।

मान्छेमा फोन चलाउने कुनै काम नपरे पनि म्यासेज, ब्याट्रीलगायत चेक गरिरहने बानी भइसकेको छ । यति मात्र नभएर सुत्दा पनि फोन साथमै राखेर सुत्ने गरिन्छ । त्यसैले पछिल्लो समय केही मानिसहरु डिजिटल दुनियाँबाट मुक्त रहन स्मार्टफोन नबोक्ने निर्णय पनि गरिरहेका छन् ।

जस्तै एउटा घटनामा क्याम एडेरले आफ्नो जीवन नै अन्त्य हुने स्थिति आइसकेपछि मात्र अनलाइन भिडियो गेमप्रतिको आफ्नो लत नियन्त्रण बाहिर गइसकेको आभास गरे । उनी भन्छन्, ‘मैले यससँग १० वर्ष संघर्ष गरें । मैले स्कुल पनि छाडें, कहिल्यै कलेज गइनँ र परिवारलाई ठगेर जागिर खाएको नाटक मात्र गरें । यसपछि अन्ततः मैले सुसाइड नोट लेखें । अनि मात्र मलाई वास्तवमै मद्दतको आवश्यकता रहेको थाहा पाएँ । अहिले म मेरो गेमिङको लतबाट मुक्त छु ।’

यसरी प्रविधि र विशेषगरी इन्टरनेटप्रतिको लत दुनियाँभर गम्भीर बन्दै गएको छ । र कोरोना महामारीले यसलाई अझ उचाइमा पु¥याइ दिएको छ । धेरै मानिसहरु अहिले मोबाइल छाड्नै नसक्ने, नचलाइ बस्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । फोनमा केही जरुरी नभए पनि यत्तिकै स्क्रोल गरिरहने, चलाइरहने बानी धेरैमा व्याप्त भएको देख्न सकिन्छ । महामारीमा मानिसहरु सामान्य अवस्था भन्दा धेरै गुणा बढी समय स्क्रिन हेरिरहेको विभिन्न रिपोर्टले देखाएका छन् । यसमा विशेष गरी युट्युबका धेरै कन्टेन्टहरु गेमिङसँग सम्बन्धित हुने गरेको पाइएको छ ।

धेरैले इन्टरनेट या मोबाइल ‘एडिक्सन’ लाई ड्रग्स या मदिराको लत जति गम्भीर रुपमा लिँदैनन् । तर वास्तविकतामा यो पनि उत्तिकै समस्याजनक र हानिकारक छ । न्युरो साइन्टिस्ट तथा डिजिटल एडिक्सनविद् डाक्टर एन्ड्रयु डोअनका अनुसार लकडाउनले इन्टरनेट र फोनप्रति लत लाग्ने समस्यालाई ठूलो रुपमा बढाइदिएको छ ।

उनी भन्छन्, ‘जीवनमा तनाव हुँदा यसले हाम्रो व्यवहारमा पनि उल्लेखनीय प्रभाव पार्दछ । जस्तै त्यो परिस्थितिमा व्यक्ति तनावपूर्ण वातावरणबाट उम्किन खोजिरहेको हुन्छ । र महामारीको समयमा मान्छेले सामाजिक सञ्जाल, गेमिङजस्ता माध्यमबाट आफूलाई मनोरञ्जन दिलाइरहेका थिए । तर पनि यस किसिमले तनावलाई कम गर्न वास्तविकताबाट उम्किने क्रम बढ्न थाल्यो भने यसैले ‘एडिक्सन’ को रुप लिन्छ ।’

इन्टरनेटको एडिक्सन कम गर्नका लागि प्राविधिक कम्पनीहरुले अनेकौं उपाय लगाइरहेका छन् । तर कुनै उपाय पनि त्यति प्रभावकारी साबित भएको छैन । कतिपय मानिसहरुमा चाहिँ इन्टरनेट एडिक्सन बिस्तारै अनलाइन बेटिङ (बाजी) मा पनि परिणत हुन सक्छ जुन खतरनाक हुनेछ ।

अनलाइन प्लेटफर्महरु प्रायः हामीले बिताउने समय बढाउने किसिमले नै डिजाइन गरिएको हुन्छ । त्यसैले चाहेर नचाहेर मान्छेले निर्धारित गरेको भन्दा बढी समय यसमा बिताउँदछ । भिडियो गेमको लत सम्बन्धी विज्ञ डाक्टर डोआन कुनैबेला आफैँ यसको शिकार बनेका थिए । उनी भन्छन्, ‘जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनमा पढ्दै गर्दा मैले दश वर्षसम्म हरेक हप्ता ८० देखि १०० घण्टासम्म भिडियो गेम खेल्थें ।’

उनका अनुसार अत्याधिक रुपमा गेमिङ, पोर्नाग्राफी र काम भन्दा बाहेक सामाजिक सञ्जालको प्रयोग गर्नुले नै मान्छेमा लत लाग्ने व्यवहार उत्पन्न गराउँछ । मान्छेले दैनिक यी गतिविधिलाई स्ट्रेसबाट छुटकारा पाउने माध्यम बनाइराखेमा यसको नराम्ररी लत लाग्दछ । लतबाट मुक्त हुने सबैभन्दा राम्रो उपाय भनेको स्मार्टफोन हामीले चाहेको बेलामा मात्र चलाउने अर्थात् फोनलाई हामीलाई नियन्त्रण गर्न नदिने भएको उनले बताए । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७