कांग्रेस अधिवेशन : रामेछापमा पुनः मत गणनाको माग


१७ कार्तिक २०७८, बुधबार
Congress

रामेछाप, १७ कात्तिक । भर्खरै सकिएको रामेछाप जिल्ला अधिवेशनको मत गणनामा धाँधली भएको भन्दै कांग्रेस रामेछापका नेताहरुले केन्द्रीय निर्वाचन समिति समक्ष पुनः मत गणनाको माग गरेका छन् ।

जिल्ला अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएकोले हुँदा पुनः मत गणनाको मागसहित मंगलबार केन्द्रीय समितिमा निवेदन परेको हो ।

जिल्ला उपसभापति पदका उम्मेदवार बेदराज लामा, महाधिवेशन प्रतिनिधिका उम्मेदवार गजेन्द्रबहादुर कार्की, झनक श्रेष्ठ, सिर्जना खड्का, सुमित्रा मोक्तान र डा. सुमन कर्माचार्यले निवेदन दिएका हुन् ।

निवेदनमा उम्मेदवारहरुलाई मतगणनाको आचारसंहिताबारे जानकारी नदिएको, मतगणनास्थलमा पस्न नदिएको, सीमित उम्मेदवारको दबाबमा मत गनिएकोले जित्ने उम्मेदवार हार्ने र हार्नेले जित्ने सम्भावना भएकाले केन्द्रीय समितिमा झिकाएर पुनः मतगणना गर्न माग गरेको निवेदकमध्येका झनकबहादुर श्रेष्ठले बताए ।

हिमाली जिल्ला रामेछापमा गएको असोज २६ गते जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको थियो । जिल्लामा निर्वाचन गराउनका लागि खटिआएका जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले मत परिणाम घोषणासहितको प्रतिवेदन केन्द्रीय निर्वाचन समितिलाई बुझाइसकेको जानकारी समेत श्रेष्ठले दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७