‘माओवादीले पहिचानको मुद्दा छाडेको छैन’


१९ कार्तिक २०७८, शुक्रबार
Prachanda 2

काठमाडौं, १९ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको बताएका छन् । नेपाल संवत् ११४२ का अवसरमा आज नेवाः मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको बताए ।

’पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौं’, उनले भने । मुलुक र जनतालाई अधिकारसम्पन्न बनाएको देशी विदेशी प्रतिक्रियावादीलाई पटक्कै मन नपरेको उल्लेख गर्दै उनले उनीहरु अहिले माओवादीलाई कमजोर बनाउन लागि परेको बताए ।

‘माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले कसरी टाउको उठाउँदा रहेछन् भन्ने देखियो, परिवर्तन उल्ट्याउन र प्रतिक्रान्ति गर्न खोज्दा रहेछन् । त्यो देखेर हामी झस्क्यौं र सडकमा पनि गयौं, जनताको बलमा प्रतिगामी कदमलाई परास्त गर्‍यौं’, उनले भने । देशलाई समाजवादी मुलुकतर्फ लैजाने क्रान्तिकारी पार्टी निर्माणको अभियानमा आफू जुटेको उल्लेख गर्दै उनले आगामी राष्ट्रिय सम्मेलनमार्फत पार्टीलाई क्रान्तिकारी ढङ्गले अगाडि बढाउने बताएका छन् ।

‘हामीले फेरि एक पटक उत्पीडित वर्ग समुदायका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिलाई लागू गर्न नयाँ ढङ्गको क्रान्तिकारी पार्टी बनाई छाड्ने सङ्कल्प गरेका छौं’, उनले थपे, ’त्यसका निम्ति जरुरी पर्छ भने जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने सङ्कल्पमा पार्टी छ ।’ पार्टीले जिम्मेवारी लिएको मन्त्रालयकातर्फबाट जनतालाई राहत दिइएको जानकारी दिँदै जनताका समस्या समाधानका लागि पार्टी प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७