कोरोना संक्रमण दर तीनदेखि ६ प्रतिशतको हाराहारीमा


२२ कार्तिक २०७८, सोमबार
korona

काठमाडौं, २२ कात्तिक । ३९ प्रतिशतसम्म पुगेको नेपालको कोरोना संक्रमणदर पछिल्ला दिनमा तीन प्रतिशतसम्म झरेको छ । असोजयता संक्रमित क्रमशः घट्न थालेकामा शनिबार महामारी सुरु भएयताकै सबैभन्दा कम ३.५३ प्रतिशतमा कायम भएको हो । आइतबार भने यो दर फेरि ६.१२ प्रतिशतमा उक्लिएको छ । शनिबार तीन हजार नौ सय ३२ नमुना परीक्षण भएकामा एक सय ३९ संक्रमित थपिएका हुन् ।

त्यसअघि शुक्रबार चार हजार आठ सय ४४ नमुना परीक्षण हुँदा एक सय ८३ जनामा पजिटिभ देखिएको थियो । यो संक्रमणदर ३.७७ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो एक साताको तथ्यांकअनुसार संक्रमणदर तीनदेखि ६ प्रतिशतमा छ ।

अघिल्ला दिनका तुलनामा संक्रमणदर आइतबार केही बढेर ६.१२ प्रतिशत पुगेको छ । दसैँपछि कोभिड परीक्षणको दरमा समेत कमी आएका कारण संक्रमणदर न्यून देखिएको हुन सक्ने विज्ञहरू बताउँछन् । संख्यामा संक्रमित कम देखिए पनि चाडपर्वको समयमा भिडभाड बढेकाले संक्रमण बढ्न सक्ने भएकाले ढुक्क हुने अवस्था अझै नभएको उनीहरूको चेतावनी छ ।

भाइरोलोजिस्ट डा. जनक कोइराला भन्छन्, ‘संक्रमणदर हेर्दा महामारी लगभग नियन्त्रणमा आएको देखिन्छ । खोपको प्रयोग सहज बन्दै जानुले समेत संक्रमण कम गर्न ठूलो सहयोग गरिरहेको छ । तर, विश्वका अन्य भागमा भ्याक्सिनपश्चात् नियन्त्रणमा आइसकेको कोभिड संक्रमण फेरि बढ्न थालेको देखिन्छ । त्यसैले अहिले नै महामारी नियन्त्रणमा आएको भनेर ढुक्क हुने अवस्था छैन ।’ सरकारले भने खोपको सहज पहुँच र एन्टिबडी निर्माणका कारण वास्तविक रूपमै संक्रमण घटेको बताएको छ ।

काठमाडौं र भक्तपुरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित
विश्व स्वास्थ्य संगठनका अनुसार सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा कम भएमा महामारी नियन्त्रणमा आएको संकेत हुन्छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले उपत्यकामा जोखिम कायम रहेको बताउँछ । दसैँपछि उपत्यकाबाहिरका सबै जिल्लामा सक्रिय संक्रमित पाँच सयभन्दा कम भए पनि काठमाडौं र ललितपुरमा बढी छन् । आइतबार मात्रै पनि काठमाडौंमा पाँच सय ६७ र ललितपुरमा पाँच सय एक सक्रिय संक्रमित छन् ।

त्यस्तै, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली गरी नौ जिल्लामा दुई सयभन्दा कम संक्रमित छन् । सामान्यतया, दुई सयभन्दा कम संक्रमित हुनुलाई सिडिसीले सामान्य अवस्था मान्ने गर्छ । आइतबारको तथ्यांकअनुसार मुगु र हुम्ला मात्रै संक्रमित नभएका जिल्ला हुन् ।

देशभर सात हजार ७१३ सक्रिय संक्रमित
हाल देशभर सात हजार सात सय १३ सक्रिय संक्रमित छन् । यीमध्ये सात हजार एक सय २४ जना होम आइसोलेसन र पाँच सय ८९ जना अस्पतालमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संस्थागत आइसोलेसनमा रहेकामध्ये एक सय ९६ जना आइसियू र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७