कांग्रेस एक्लैले बहुमत ल्याउँछ, अरु दलसँग मिलेर चुनाव लड्न पर्दैन : गगन थापा


२२ कार्तिक २०७८, सोमबार
Gagan thapa
फाइल फोटो

सिन्धुली, २२ कात्तिक । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आउँदो चुनावमा अरु कुनै दलसँग तालमेल या गठबन्धन नपर्ने बताएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका कांग्रेसको वडा अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा नेता थापाले यस्तो बताएका हुन् ।

‘कुनै पनि कांग्रेस कार्यकर्ताले रुख बाहेक अन्त मतदान गर्दैन । यो बेलामा पार्टी जोगाउने नजोगाउने हाम्रो हातमा छ’, थापाले भने, ‘कतिपय ठाउँमा हामी चुकेका छौं । विगतका निर्वाचनमा पनि हामी चितवनसहितका ठाउँमा तालमेल गरेर गल्ती ग¥यौ । यो पटक कांग्रेस एक्लै लडेर बहुमत ल्याउँछ । कसैसँग तालमेल हुँदैन ।’

उनले आगामी वैशाखमा स्थानीय चुनाव र मंसिरमा आमचुनाव हुने बताए । ‘अब वैशाखमा स्थानीय तहको चुनाव हुन्छ । मंसिरमा आम चुनाव हुन्छ । अदालतले नै अर्ली इलेक्सन रोकिसकेको छ’, उनले थपे, ‘कांग्रेसका कोही नेताले अन्य कोही दलसँग मिलेर चुनाव लड्छु नभने हुन्छ । कांग्रेसको मतदाताले रुख चिन्ह बाहेक अन्त मतदान गर्दैन ।’

उनले कांग्रेसका हरेक कार्यकर्ताले रुख चिन्हमा मत हाल्दै गर्दा बहुमत ल्याउने गरी लाग्नुपर्ने बताएका छन् । ‘कांग्रेस आगामी निर्वाचनबाट पहिलो पार्टी बन्ने भन्ने हो भने हामीलाई ३१ लाख होइन ४२ लाख मतदाता चाहिन्छ’, थापाले भने, ‘त्यसका लागि हामीले पुराना मतदाता जोगाउनुपर्छ, नयाँलाई फकाउनु पर्छ। कांग्रेस भनेको विचार हो, विचार तलमाथि भएमा गडबड हुन्छ । त्यसैले आफ्नो विचार छाडेर कांग्रेसले अरु चुनाव चिन्हमा भोट हाल्दैन ।’

२०७४ सालको स्थानीय निर्वाचनका क्रममा कांग्रेसले कार्यकर्तालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न लगाउँदा काठमाडौंका मतदाता गुमाएको पनि थापाले बताएका छन् । ‘चितवनको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा (माओवादीको चुनाव चिन्ह) मा मत हाल्नुपर्छ भन्दा काठमाडौंमा मतदाता गुमायो’, उनले थपे, ‘चितवन प्रकरणले कांग्रेसका लाखौँ मतदाता रिसाए । हामीले अब पनि हाम्रा ३२ लाख मतदाता रिसाउने काम गर्नु हुँदैन । अदालतबारे नबोलेमा कांग्रेसले अझै मतदाता गुमाउँछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७