नेपालमा विकास नहोस् भन्ने तत्वले एमसीसीले देश खान्छ भन्ने भ्रम फिंजाए : बाबुराम भट्टराई


२३ कार्तिक २०७८, मंगलवार

गोरखा, २३ कात्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) बारे भ्रम फैलाएको बताएका छन् । गृह जिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका क्रममा भट्टराईले यस्तो धारणा राखेका हुन् । यसमा भारत, चीन र अमेरिका लागेको उनको आरोप थियो ।

एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो । उनले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरेका छन् । ‘एमसीसीले देश खान्छ भन्ने भ्रम हो’ उनले भने, ‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन् । के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि ! अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौं । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन । अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो ।’

उनले सोमबारबाट पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान सुरु गरेका हुन् । अभियान अन्तरगत उनले गोरखाका सबै गाउँपालिका÷नगरपालिकामा घरदैलो गर्नेछन् । मंसिर ३ गतेसम्म अभियान सञ्चालन हुनेछ । अभियानका क्रममा भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको बताए ।

उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवा गरेका छन् । अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुननसक्ने उनको दाबी थियो । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा(नेकपा) विभाजनलाई उदाहरण दिदैं भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे ।

साम्यवादको अमूर्त कुरालाई छाडेर सबै राजनीतिक पार्टीलाई समाजवादी धारमा लाग्न समेत उनले आग्रह गरे । ‘दुईपटक विघटन भएर संसदले पुनर्जीवन पाएको छ । यससँगै तत्कालको लागि प्रतिगमनको खतरा टरेको छ । तर, राजनीतिक अस्थिरता, हरेक पार्टीभित्रको बेथिति, देश र राजनीतिको कथा व्यथा भने उस्तै छ’ भट्टराईले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७