वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द


२ मंसिर २०७८, बिहीबार
polution dellhi

नयाँदिल्ली, २ मंसिर । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चितकालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् ।

यातायात र सुरक्षासम्बन्धी बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ । सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । दिवाली पर्वदेखि नै दिल्लीलाई विषाक्त धुवाँले ढाकेको छ । वायुको गुणस्तरको तह मापन गर्ने पीएम २.५ विश्व स्वास्थ्य संगठनको सुरक्षा निर्देशिकाभन्दा धेरै नै उच्च भएको छ । मंगलबार कतिपय स्थानमा वायु प्रदूषणको तह ४०० भन्दा धेरै पुगेको बताइएको छ, जुन गम्भीर अवस्था हो ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार शून्यदेखि ५० सम्मको स्थितिलाई राम्रो र ५१ देखि १०० बीचकोलाई सन्तोषजनक मानिन्छ । वायु प्रदुषणका कारण केही विद्यालयहरू गत सातदेखि नै बन्द भएका थिए । दिल्ली सरकारले वायुको गुणस्तर सुधार गर्न लकडाउन गर्ने सोचिरहेको बताएको थियो ।

गाडीजन्य र औद्योगिक उत्सर्जन, धुलो र मौसमको अवस्थाको मिश्रित कारकहरूले दिल्लीलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी बनाएका छन् । छिमेकी राज्यहरूमा किसानले पराल जलाउने भएकाले विशेषगरी हिउँद याममा हावा विषाक्त हुने गर्छ । दिवालीमा पटका पड्काउने कार्यले पनि वायु प्रदूषण गर्न सघाउ पुर्‍याउँछ । हावाको मन्द गति पनि वायुमण्डलमा प्रदूषण रहिरहने अर्को कारण हो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७