पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण : विवेकशील पार्टी


२७ मंसिर २०७८, सोमबार
bibekshil shajha

काठमाडौं, २७ मंसिर । पुँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूणर् भन्दै विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आपत्तिजनक अभिव्यक्ति आउनु खेदपूणर् भएको पार्टीको भनाइ छ ।

विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालय समेतको नेतृत्व गरेको पार्टीका अध्यक्षले हालै ‘धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रूप’ भनेर अभिव्यक्ति दिएका थिए । विवेकशीलले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘सो अभिव्यक्ति पूणर्तः गैरजिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै त्यसप्रति खेद व्यक्त गर्दछ ।’

पुँजी बजारका विषयमा माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ । विवेकशल साझाले भनेको छ ‘आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी सेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो ।’

पुँजी बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्ने सो पार्टीको भनाइ छ । ‘बजार दुर्घटनामा पर्यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ । यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील तथा जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ’ विवेकशीलले भनेको छ ।

पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा पनि नीतिगत कामकारबाही अलपत्र परेको छ । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टीले माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७