विदेशमा बस्ने नेपालीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण


२ पुष २०७८, शुक्रबार
Balkrishna khad 1

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैरआवासीय नेपाली सङ्घका पदाधिकारीसँग हिजो गृह मन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताए ।

उनले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैरआवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेडिकेटेड डेस्क’ स्थापना, श्रम सम्झौता नभएका देशमा श्रम सम्झौता गर्नेलगायतका विषयका समस्या समाधान गर्न विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पारे ।

छलफलमा सहभागी गृहसचिव टेकनारायण पाण्डेलाई गृहमन्त्री खाँणले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको समस्या अविलम्ब समाधान गर्न निर्देशन दिए । विमानस्थलमा रहने अध्यागमन, सुरक्षा, भन्सार र वातावरण सम्बन्धी मन्त्रीको बैठक राख्न पनि सचिव पाण्डेलाई गृहमन्त्री खाँणले निर्देशन दिए ।

त्यस्तै गृहमन्त्री खाँणले गैरआवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्न पनि सचिव पाण्डेलाई निर्देशन दिए । गृह सचिव पाण्डेले अरेबिया, साइप्रसलगायतका देशमा देखिएको समस्याबारे सरकार सचेत रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७