यौन दुर्व्यवहारका घटनामा वृद्धि


३ पुष २०७८, शनिबार
Rape for nayapage

जुम्ला । जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुर्व्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक-२०२१ मा उल्लेख गरिएका छन् ।

सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन दुर्व्यवहारका पाँच गरी नौ वटा घटना घटेका छन् । ती घटनाका सात जना आरोपित पूर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई बालक सुधारगृह र एक फरार रहेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी सो अवधिमा जातीय विभेदसम्बन्धी एक, बहुविवाहका दुई, यातानापछि मृत्युका एक, अपहरणका एक, हत्याका एक र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई गरी १७ घटना सङ्कलन गरिएका छन् । शिक्षा र खाद्य अधिकारसम्बन्धीका घटना पनि सङ्कलन गरिएको इन्सेक जुम्लाले जनाएको छ ।

मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्व समीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँले वर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढी पहिराले पारेको क्षतिलगायत विषयलाई समेत प्रथामिकता राख्न सुझाव दिए ।

बाढीले अन्नवालीमा परेको क्षतिका विषयमा धान बाली राहत वितरणका लागि मात्रै कार्यविधि बनेको छ । अरु अन्नवालीको विषयमा कार्यविधि नबनेकाले यसमा पनि समस्या देखिएको उहाँको भनाइ छ । यो विषयलाई थप प्रभावकारी बनाउनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने सहायक प्रजिअ चौलागाइँले बताए ।

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण सहनीले घटनाको पुष्टि हुने तथ्याङ्क थप बलियो बनाउन सुझाव दिँदै बढ्दो सडक दुर्घटनाका विषय पनि समेट्न सकिने बताए । सडक र सवारी दुर्घटनाका कारण धेरै धनजनको क्षति भएको हुन्छ । यो राज्यसँग पनि जोडिएको विषय भएकाले वर्ष पुस्तकमा समेट्दा उपयुक्त हुने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७